चाडपर्व, बिरामी र डाक्टर

- नेपाली हेल्थ
डा. उत्तम पच्या
डा. उत्तम पच्या

नेपालीहरुको महान चाड बडा दशैँमा आमाबाबुको आशिर्बाद थाप्न संसारका कुना कुनामा पुगेका सन्तान घर फर्कन्छन् । तिहारमा आफ्ना दिदी बहिनीको हातको टिका लगाउन पनि त्यसरी नै फर्किन्छन दाजुभाईहरु ।

आफ्नो गाँउ ठाँउमा पुगेर दशैँमा आमाबाबुको हातको टिका लगाइ आशिर्वाद थाप्न कसको मन हुँदैन र ? तिहारमा दिदी बहिनीको हातबाट सप्तरंगी टिका सहित मखमली फुलको माला लगाउन पाँउदा को खुशी हुन्न र ? तर इच्छाले मात्रै सबैकुरा नहुँदो रहेछ ।

हामी चिकित्सकहरुको पेशा नै यस्तो आफ्ना व्यक्तिगत इच्छा आकांक्षालाई मनको कुनामा राखि सधैभरी आफ्नो कतव्र्यमा क्रियाशिल रहँनुपर्ने । दशैँ तिहार नभनी बिरामीको सेवामा लागि पर्नुपर्दो रहेछ ।

घरमा हामी चारभाई छोरा । त्यसमध्ये स्वदेशमा भएको म एक्लो छोरो । दशैँ तिहारका बेला हरेक घरमा टाढा टाढाबाट सन्तान आउँछन् । मेरो घरमा पनि अपेक्षा त्यहि थियो तर स्वदेशमै भएर पनि त्यो पारिबारिक अपेक्षा पुरा गर्न सकिएन । कारण, पारिबारिक भन्दा ठूलो सामाजिक जिम्मेबारी म माथि थियो । पेशागत दायित्व मैले भुल्नु हुँदैनथ्यो । त्यसैले यहिँ भएर पनि दशैँमा घर गइन ।

तिहार लगत्तै गतवर्ष आएको हुँ ताप्लेजुङ । जिल्ला अस्पतालमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छु । पश्चिम नेपालको मान्छे पूर्वको पहाडी जिल्लामा सेवा दिदैँछु । पर्वका बेलामा सबै घर जाँदा आफूलाई पनि मन नलाग्ने त कहाँ हो र तर हाम्रो दायित्व छ । रोगले चाडपर्व भन्दैन, व्यथाले दशैँ तिहार पर्खदैन् । त्यसैले हामी चिकित्सक दिन रात चाडपर्व नभनी पालो मिलाई चौविसैँघण्टा सातै दिन सेवामा खटिरहन्छौँ ।

परिबारका सदस्यहरुको मनमा लाग्दो हो पर्वका बेलामा पनि छुट्टी नमिल्ने कस्तो जागिर हो ? तर हाम्रो बाध्यता यस्तै छ । विरामीको उपचार र सेव ागर्ने कसम खाएर यो पेशा अंगालेपछि पारिबारिका जमघट चाडपर्व तपशिलको विषय हुँदो रहेछ ।

चार दाजुभाईमध्ये स्वदेशमा भएको म एक्लो छोरो तर यसपटक दशैँमा गईन् । तिहारमा पनि नजाने निर्णय गरेँ । म संंगै डा. सोनिङ लामाले पनि घर नजाने निर्णय गर्नुभयो । हामी दुई चिकित्सक बसेपछि अन्य सहकर्मीहरुलाई घर जान केही सहज भयो ।

दशैँमा घर नजाँदा दुई जनाको ज्यान बचाएँ जस्तो लाग्छ । सुत्केरी हुन नसकेकी गम्भीर अवस्थाकी महिलाको केस दशैँकै दिन आइपुग्यो । पेटमा रहेको शिशुले दिसा खाइसकेको रहेछ । तत्काल अप्रेसन नगरे आमा र बच्चाको ज्यान नै खतरामा पर्ने थियो । सो केसलाई हामीले अप्रेसन नगरी रिफर गरेको भएपनि पेटको शिशु त मथ्र्यो नै आमाको पनि भन्न सकिदैनथ्यो । यस्तो अवस्थामा हामीले तत्काल इमरजेन्सी अप्रेसन गर्यौँ अनि आमा र बच्चालाई जोगायौँ ।

केही दिन अघि मात्रै हामी आफ्नै काममा व्यस्त थियौँ । अस्पतालमा उपचाररत एक जना विरामीको मृत्यु भयो । अस्पतालमा मृतकको आफन्तको भिड बढ्यो । डाइविटिज र हाइपरटेन्सनको विरामीको ‘सडन कार्यियाक डेथ’ हुनसक्छ भन्ने नबुझेका भिडले डाक्टरले औषधिको धेरै डोज दिएर मारयो भन्ने आवाज आउन थाल्यो ।

दिनरात चाडपर्व नभनी उपचार गरिरहेका चिकित्सकलाई यस्तो आरोप मात्रै आएन ज्यानै मार्ने सम्मको धम्की समेत आयो । तर सम्यमित भयौँ । यता भिड लागिरहेका बेला अर्को तर्फबाट गम्भीर अवस्थाकी गर्भवति महिलालाई ल्याइयो । उनको उपचार नगरे उनको मृत्यु हुने निश्चित छ । यता अर्को भीडले आफ्नै ज्यान जाने हो कि भन्ने खतरा छ । हामीले रिफर नगरी त्यहि उपचार गरयौँ । आमा र बच्चाको ज्यान जोगियो ।

यस्ता केस ताप्लेजुङमा मात्रै होइन देशका हरेक कुना काप्चामा पुगेर सेवा दिने स्वास्थ्यकर्मीमा आइरहेको छ । डाक्टरले कसरी सेवा दिएको छ त्यो नहेर्ने तर जे जस्तो केसमा पनि डाक्टरको लापरबाही भन्ने र जवरजस्त ीगर्ने भिड तन्त्र बढेको छ । यसमा आम सरोकारवालाहरु गम्भीर बन्न जरुरी छ ।

अन्तमा महान चाडका बेलामा पारिबारिक जमघट विर्सेर सेवामा विरामीको सेवामा तल्लिन हुने देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी साथीहरुमा बिरामीको सेवा गर्ने भावना थप जागृत होस भन्ने शुभकामना व्यक्त गर्दछु ।

# डा.  पच्या जिल्ला अस्पताल ताप्लेजुङमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।


Facebook Comment


थप समाचार