गुणस्तरीय आयुर्वेदिक औषधि र धन्वन्तरि जयन्तीको महत्व

  • सन्दर्भ : धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस
  • - नेपाली हेल्थ
    डा. राजेन्द्र गिरी
    डा. राजेन्द्र गिरी

    आज कात्तिक १२ गते कृष्ण त्रयोदशीका दिन ‘दिगो स्वास्थ्यको आधार, आयुर्वेद उपचार’ भन्ने नाराका साथ धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाइदै छ ।

    आयुर्वेदका प्रर्वतक धन्वन्तरिका बारेमा विभिन्न धारणाहरु छन । कसैले समुन्द्र मन्थन गर्दा निस्किएका विष्णु भगावनको अवतार, कसैले धन्वका पुत्र काशीराज दिवोदास नै धन्वन्तरि हुन् भन्दछन् ।

    जसरी व्याख्या गरे पनि आयुर्वेदका प्रेमीहरु धन्वन्तरिलाई “स्वस्थ व्याक्तिलाई स्वस्थ राख्न र रोगी व्याक्तिलाई रोग निराकरण गर्ने क्रममा सधै सम्झिने गर्छन ।

    सिंहदरबार वैद्यखाना, नरदेवीस्थित आयुर्वेद चिकित्सालय र आयुर्वेद चिकित्सक संघ लगायत बिभिन्न आयुर्वेद संघ संस्थाहरुमा आरोग्य दिवसको रुपमा धन्वन्तरिको पूजा अर्चना गरी मनाउने गर्दछन् ।

    वि.सं २०५२ सालदेखि सिंहदरबार वैद्यखाना विकास समितिमा परिणत भए पछि धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसर पारेर सिंहदरबार वैद्यखाना विकास समितिले पनि आफ्नो वार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ ।

    मानवजातिको विकासक्रममा पूर्वीय सभ्यतामा आयुर्वेद विज्ञानको विकास भएको मानिन्छ । आयुर्वेदको उद्गमस्थल नेपाल हो । आयुर्वेद, नेपाल र नेपालीहरूको परम्परा, संस्कृति र प्रत्येक नेपालीहरुको भान्सासँग जोडिएको छ ।

    हाम्रा पुर्खाहरुले यत्रतत्र पाईने जडिबुटीहरुबाट सजिलो, भरपर्दो र सस्तो रुपमा निःशुल्क रुपमा रोगीहरुको उपचार गर्दै आइरहेको पाईन्छ । उनीहरुले आफ्नै घरको वरिपरि र बारीको छेउछाउबाट घुमेर पात, मुन्टा, लहरा, बोक्रा, जरा,काण्ड आदी ल्याएर तुरुन्तै ताजा औषधि बनाई विरामीलाई सेवा गथ्र्ये । अनि बिरामीहरुको रोग निको पार्थे  । तसर्थ, हाम्रो आफ्नै स्थानीय साधन र स्रोतको उपयोग गरी स्वस्थ रहने र रोगको निदान तथा उपचार गर्ने अभ्यास हुदै पुस्ताहरुबीच हस्तान्तरण  हुँदै  आएको बिज्ञान हो ।

    अग्रजहरुको निरन्तर अभ्यासका क्रममा आयुर्वेदका प्रामाणिक ग्रन्थहरुमा बृहत्त्रयी, लघुत्रयीका अतिरिक्त औषधिनिर्माणका सन्दर्भमा रसरत्नसमुच्चय, भैषज्यरत्नावली, रसेन्द्रसार संग्रह निर्माण गरेका छन हाम्रा अग्रजहरुले ।

    नेपालको सन्दर्भमा भन्नुपर्दा परापूर्वकालदेखि चिकित्साकार्यमा संलग्न वैद्य–कविराजहरुले आफ्ना अनुभवहरुलाई टिपोट गरी प्रकाशित गर्दै आएका छन् । हजारौ लिखतहरु अप्रकाशित हस्तलिखित पाण्डुलिपिका रुपमा पाइन्छन् । तिनीहरुको प्रयोग पनि प्रभावकारी मानिन्छ । आयुर्वेदमा स्वस्थको स्वास्थ्य रक्षा एवं रोगीको रोगोपचारमा प्रयोग गरिने जडिबुटीहरुको परिचय,उपयोग, गुण आदि विवेचना सहितको संग्रहयुक्त निघण्टु पाइन्छ ।

    सम्बन्धित विशेषज्ञहरुद्वारा प्रत्यक्ष अवलोकन तथा लामो अनुभवको आधारमा निस्वार्थभावले तयार गरिएका छन । जस्तै, सिंहदरबार वैद्यखाना विकास समितिमा जडिबुटीहरुको रंगीन चित्रहरु र उपयोग समेत वर्णन भएको प्राचीन हस्तलिखित ग्रन्थ ‘चन्द्रनिघण्टु’। यि प्राचीन निघण्टु चिकित्सा एवं औषधिको हिसावले महत्वपूर्ण ज्ञानका श्रोत मानिन्छन ।

    आयुर्वेद बिज्ञानको चार महत्वपूर्ण पक्ष मध्ये औषधि पनि एक हो । गुणस्तरीय औषधिको कुरा गर्दा गुणस्तरीय जडिबुटी अनिवार्य आवश्यकता भित्र पर्छ । हामीसँग भएका धेरै खालका सम्भावनाहरुमध्ये जडिबुटी एक हो । विविध हावापानीको भूगोलमा बाँडिएकोले हिमालदेखि तराईसम्म विभिन्न जाति र प्रजातिका हजारौँ  जडिबुटी प्राकृतिक रुपले नै विद्यमान छन् र यहाँ नभएका जडिबुटी विश्वका कुनै पनि ठाऊँबाट ल्याएर ब्यवसायिक खेति गर्न सकिन्छ ।

    हामी सबैले “हरियो बन नेपालको धन” एवं “जलश्रोत पछिको दोस्रो सम्पदा जडिबुटी” भन्दै आइरहेका छौ । सातसय भन्दा बढी प्रजातिका जडिबुटी नेपालमा पाइन्छन । करिव नेपालबाट युरोपका विभिन्न देशहरुमा २० भन्दा बढी प्रकारका जडिबुटीजन्य सुगन्धित तेल र जडिबुटीजन्य उत्पादनहरु निर्यात हुने गरेको पाइन्छ । जडिबुटीजन्य उत्पादनको माग उच्चरहेता पनि प्रयोगशाला नहुदा र उपयुक्त प्रविधि र व्यवस्थापन तथा परीक्षण एवं प्रमाणिकरणको सुनिश्चितता र संस्थागत समन्वय नभएका कारण स्वदेशी जडिबुटीहरुवाट बनेका उत्पादनहरु बिदेशी बजारमा पहुँच नभएको अवस्था छ ।

    नेपालमा केहि जडिबुटीहरु लोप हुने अवस्थामा छन् । जडिबुटीको स्रोतमा आयुर्वेद औषधि उद्योगहरु निर्भर रहने हुँदा आगामी दिनहरुमा कच्चा जडिबुटीहरुको संकट नपर्ला भन्न सकिन्न । त्यसैले व्यावसायिक रुपमा जडिबुटी खेती गर्न सकेमात्र कच्चापदार्थको माँगलाई पूरा गर्न सकिन्छ । कच्चापदार्थको गुणस्तर,पहिचान र मूल्य निर्धारण पनि आयुर्वेदिक उत्पादकहरुमा चुनौतिको रुपमा रहेका छन् । नेपालका उत्पादकहरुले नयाँ प्रविधि, उपकरण बिश्व स्वास्थ्य संगठनले निर्धारण गरे बमोजिम (जि.एम.पी.) कुशल औषधि निर्माण प्रक्रिया लागू गर्न नयाँ चुनौती थपिएको छ ।

    गुणस्तरीय जडिबुटीका लागि सार्वजनिक निजी साझेदारीमा जडिवुटी खेती प्रविधि विकास, विस्तार, उत्पादन, प्रशोधन एवम् बजार प्रवद्र्घन गर्न जरुरी छ । नेपालको समग्र र सन्तुलित विकासको लागि जडिवुटी पहिचान, संरक्षण, सम्बर्धन, विकास तथा सदुपयोगमा जोड दिनु आवश्यक छ । विभिन्न निकायहरुले विभिन्न औषधिहरु उत्पादनको लागि आवश्यक कच्चा पदार्थ आयात गरिरहेको अवस्थामा जडिवुटीसँग सरोकार राख्ने सबै निकाय तथा पक्षहरुले हातेमालो गर्दै एक अर्काबीच समन्वयकारी भूमिका खेल्नुपर्दछ ।

    #  गिरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध–निर्देशक हुन्


    Facebook Comment


    थप समाचार