नेशनल रेजिडेन्ट डक्टर्सले आयोजना गरेको खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ, १० कात्तिक – त्रिभुवन विश्वविद्यालयमा चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सकहरुको संगठन नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसन ( एनआरडीएले ) आयोजना गरेको दश दिने खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । एनआरडीएले गत १ देखी १० कात्तिकसम्म विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।
एनआरडीएका खेलकुद संयोजक डा. कस्चेव श्रेष्ठका अनुसार सञ्जीव मेमोरियल फुटसल प्रतियोजितामा बेसिक विभागको टिम पहिलो र आँखा विभागको टिम दोस्रो भएको छ । त्यस्तै सन्नी मेमोरियल क्रिकसोल प्रतियोगितामा एनेस्थेसिया विभागको टिम पहिलो र बेसिक टिमले दोस्रोस्थान हात पारेको छ ।
एनआरडीएले गत ९ फागुनमा सडक दुर्घटनामा परेर असामयिक निधन भएका शिक्षण अस्पताल छाला विभागका आवासीय चिकित्सकद्धय डा. सञ्जीव सुवेदी र डा. सन्नी आनन्द गुर्मैताको स्मृतिमा यी दुई प्रतियोगिता राखेको थियो ।

यता खुल्ला टेबल टेनिस प्रतियोगितामा मेडिसिन विभागका डा. सबिन थपलिया प्रथम भएका छन् । एनेस्थेसिया विभागका डा. अर्जुन गुरुङले दोस्रो स्थान हासिल गरेका छन् । त्यस्तै आज भएको टक अफ वार प्रतियोगितामा हाड जोर्नी विभागले प्रथम स्थान हात पारेको छ । दोस्रो स्थान भने नाक कान घाटी विभागले सुरक्षित गरयो ।
प्रतियोगितामा विजयी खेलाडी तथा समूहलाई महाराजगञ्ज क्याम्पसका क्याम्पस प्रमुख डा. जीवन श्रेष्ठ, त्रिवि शिक्षण अस्पतालका उप निर्देशक डा. दिनेश काफ्ले तथा बरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा डा. गोविन्द केसीले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमपछि बोल्दै एनआरडीएका अध्यक्ष डा. लिजन महर्जनले शैक्षिक क्रियाकलाप भन्दा थोरै फरक क्रियाकलाप सञ्चालन गरि रिफ्रेस भएको बताए । उनले अकल्पनीय दुर्घटना ज्यान गुमाएका साथीहरुको सम्झनामा केही प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
एनआरडीए डा गोविन्द केसीको हरेक सत्याग्रहमा नजिकबाट साथ दिने संस्थाको रुपमा समेत आफूलाई उभ्याएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



