आफ्नै फार्मेसी नभएका सरकारी अस्पतालले छ महिना भित्र खोल्नुपर्ने
विष्णु नेपाल/काठमाडौँ, २७ असोज – स्वास्थ्य मन्त्रालयले आफू मातहतका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल एवम् जिल्लास्तरका सबै अस्पतालमा फार्मेसी निर्देशिका अनुसार आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ ।
अस्पताल आफैंले फार्मेसी सञ्चालन नगर्दा बिरामीले चर्को मूल्यमा औषधि खरिद गर्न परिरहेको भन्दै मन्त्रालयले आफू मातहतमा सञ्चालित सबै अस्पताललाई आगामी छ महिनाभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न परिपत्र गरेको छ ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले राससलाई यसबारे जानकारी दिँदै आफूले छ महिनाभित्र मन्त्रालय मातहतमा सञ्चालित सबै अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरिसक्न निर्देशन दिएको र यसको अनुगमनसमेत गर्ने बताए ।
यसका लागि मन्त्रालयले केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पताललाई क्रमशः रु ३० लाख, २५ लाख, २० लाख र १५ लाख बीउ पुँजी (सिड मनी) का रुपमा पठाइसकेको छ । साथै, सबै जिल्ला अस्पताललाई गरी रु तीन करोड ४४ लाख रकम फार्मेसी सञ्चालनका लागि निकासा मन्त्रालयबाट निकासा भइसकेको छ ।
पाँचवर्ष अगाडि नै औषधि व्यवस्था विभागले परिमार्जनसहित तयार पारेको फार्मेसी निर्देशिका कार्यान्वयनमा ल्याइएपनि प्रभावकारी बन्न सकेको थिएन ।
अस्पताल परिसरमा निजी क्षेत्रबाट सञ्चालित फार्मेसीका सञ्चालकको दबाबका कारण सो निर्देशिका कार्यान्वयनमा आउन नसकेको हो ।रासस