डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न स्वास्थ्य मन्त्रीको आग्रह
काठमाडौँ, २० असोज – स्वास्थ्य मन्त्री गगन थापाले अनसन स्थगित गर्न डा गोविन्द केसीलाई आग्रह गरेका छन् । डा केसीले उठाएका मध्ये धेरै माग पुरा भएको र केही माग प्रक्रियामा रहेको भन्दै मन्त्री थापाले त्यसका लागि केही समय पर्खिन आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै थापाले आफू पहिले देखिनै डा केसीको लडाईमा साथ रहेको भन्दै तर सरकारले काम गरिरहेको अवस्थामा अनसन बस्नु हतारो भएको बताए ।
‘म आएको धेरै भएकै थिएन, अनसन बस्ने कुरा आयो मैले केही दिन पर्खनुस् । भएन भने बस्नुहोला भने , तर एक साता पर्खनुभयो । त्यसपछि पुन बस्नु भयो । हामीले पत्र पठायौँ तर उहाँले अनसन रोक्नुभएन ।’
मन्त्री थापाले डा केसीका चिकित्सा शिक्षा विधेयक, मनमोहन प्रतिष्ठान विधेयक फिर्ता लिने कार्य लगायतका कुराहरु लगभग पुरा भएको र बाँकी विषयमा समेत काम अघि बढेको भन्दै त्यसका लागि केही समय लाग्ने बताए ।
‘अहिले भएका कामहरु आजको भोली नै हुने खालका पनि होइन केही समय लाग्छ । त्यसैले डा केसीलाई मेरो आग्रह कृपया अनसन स्थगित गर्नुहोस्,’ मन्त्री थापाले भने ।
एघार दिन देखि अनसन बसेका डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको चिकित्सक टोलीले बताएको छ ।