हराएका प्रेमी डाक्टरको रुपमा भेटिएपछि ……..

  • कथा :
  • - नेपाली हेल्थ
    sarbada-adhkari
    – सर्वदा अधिकारी

    क्लिनिकको चारकुने कोठा साँघुरो भएपनि सामानहरु चिटिक्क मिलाएर राखिएको छ । छेउमा बिरामी जाँच्ने एउटा सानो बेड छ । अर्को छेउमा कम्प्युटर टेबल र कुर्सी छ ।

    क्लिनिकमा आज बच्चाको डाक्टर आउने पालो । त्यसैले बाहिर बिरामी बच्चा सहित तिनका आफन्तको भिड लागिसकेको छ । तर समय भइसक्यो डाक्टर अझै झुल्किसकेका छैनन् ।

    …………………………………………………………

    केही समय पछि छातीमा स्टेथेस्कोप भिरेका एक अधबैशे डाक्टर हस्याङ फस्याङ गर्दै आएर क्लिनिक भित्र छिरे । कुर्सीमा बसे । अगाडी टेवुलमा बिरामीको कार्डको चाङ थियो । अलि उतापट्टी एक छेउमा घोप्टयाइएको गिलास उठाए , संगै राखिएको जग पनि उठाए । गिलासमा पानी हाले अनि घट्घटी पिए ।

    ………………………………………………………..

    हरेक साताको सोमबार, बुधबार र शुक्रबार गरी तीनदिन बेलुका पाँचबजे क्लिनिक पुगेर बच्चा जाँच्ने उनको सेड्युल हो । तर आज क्लिनिक आइपुग्दा घडीको सुईले साढे पाँच नाघिसकेको संकेत गरेको थियो । त्यसैले क्लिनिक बाहिर भिड बढिसकेको थियो ।

    पानी खाएर केही मिनेट फ्रेस भएपछि उनले तयार भएको विरामीको रोष्टर अनुसार नाम बोलाउन लगाए । नाम सुन्नासाथ एक जना महिला आफ्नो तीन बर्षको छोरा लिएर भित्र पसिन् । उनी पस्नासाथ ढोका ढप्क्याइयो । बाहिरको भिडभाडले परीक्षणलाई डिस्टर्ब हुने भएकोले हरेक बिरामी उनको कोठामा छिर्नासाथ ढोका ढप्क्याइएको हुन्छ ।

    पहिलो बिरामी निस्केपछि रोस्टरको नाम अनुसार अर्को बिरामीलाई पठाइदिन आग्रह गर्छंन् । नाम अनुसार अर्को बिरामी बच्चाकी आमा भित्र छिरीन् । बच्चालाई हेरिसकेपछि आवश्यक औषधि प्रेस्काइब गर्छन् । एबंरितले पौने सात बजेसम्म बिरामी बच्चा र अभिभावकलाई बोलाए र चेकजाँच गरि पठाए

    त्यत्तिकैमा एक जना महिला चारमहिनाको छोरा लिएर डाक्टर छेउमा पुग्छिन् । बच्चा र अभिभावकलाई नहेरी उनले कुर्सीमा बस्न आग्रह गर्छन् । ‘के भएको छ बाबुलाई ?’ बच्चाको आमासंग सोध्छन् । बच्चाकी आमाले सबैकुरा भन्छिन् । बच्चाको जाँच गर्छन् । आवश्यक औषधि लेखिदिन्छन् । निको नभए एक हप्ता पछि पुन आउन आग्रह गर्दै विदा गर्छन् ।

    ………………………………………………………………………….

    आज किन हो कुन्नी झमक्क साझ पर्दा समेत बिरामी आइरहेका छन् । तर उनले ढिला नगरी जाँच्ने र पठाउने काम गरिहेका छन् । घडीले सवा सातको संकेत गरयो । टेवुलमा राखिएको बिरामीको कार्ड सकियो । बाहिर नयाँ विरामी देखिदैनन् । बिरामी सकिने बित्तिकै हिड्न मन लागेन् । टेवुलको कम्प्युटर अन गरेँ । इन्टरनेटमा  के के सर्च गर्दै थिए ।

    त्यतिकैमा एक जोडी सानो बच्चा लिएर उनको कोठामा छिरे र दुबैले एकै स्वरमा भने, ‘डाक्टर साव ! अघि साँझ देखि एक्कासी ज्वरो आयो । बच्चा निक्कै आत्तिएको छ लौन हेर्दिनु परयो ।’

    कम्प्युटरमा भर्खरै नजर लगाउन थालेका डाक्टरलाई दुई जनाको स्वर मिश्रित आवाजलाई जवाफ दिन बेरै लागेन । ‘तपाईँहरु नआत्तिनुस्, म हेरिहाल्छु नि तर मेरो कोठा साँघुरो छ । तपाईँहरु दुई जना हुनुहुदो रहेछ एक जना मात्रै भित्र बसेको भए मलाई अलि सहज हुने थियो ।’
    त्यो सुन्ने वित्तिकै बच्चाको बाबु ‘हवस डाक्टर साब’ भन्दै बाहिर निस्किहाले, अनि ढोका ढप्कियो । लौन डाक्टर साब यता हेर्नुपरयो, यो आवाजले कम्प्युटरकै स्क्रिनमा आँखा गाडेका डाक्टरको मन बेचैन बनायो ।

    …………………………………………………………………….

    कता कता सुनेको आवाज, केही मिठास केही वितिष्ण लाग्छ उनलाई । चीरपरिचित त्यो आवाज तर्फ अनुहार घुमाउन मुस्किल पर्छ उनलाई । फेरी बोलाछिन बच्चाकी आमाले “डाक्टरसाब ?” फेरी सुन्यता छाउछ ।

    चाहँदा चाहँदै पनि डाक्टर आफ्नो अनुहार कम्प्युटरको स्क्रिनबाट पछाडी फर्काउन सक्दैनन् । तर त्यो अवस्था लामो समय रहँदैन् । बिस्तारै बच्चाको आमातिर फर्किन्छन् । पिलपिलाउदो अनुहार लगाएर उभिएकी बच्चाकी आमालाई हेर्छन् । एकाएक दुबैको आँखा जुधछ । अनि झटपट ती महिलालाई बस्न आग्रह गर्छन् ।

    बच्चाकी आमा झनै बेचैन् देखिन्छिन् । मौनता छाउँछ । कोठाको वायु मानौँ कुनै शुन्यबाट निस्किएर शुन्य हुदै अर्को कुनै शुन्यमा बिलाउन खोजे जस्तो । मौनतालाई चिर्दै बच्चाकी आमाको मुखबाट शब्द निस्कियो ‘रन्जन !’ तिमि यहाँ ?’

    …………………………………………………………………………..

    हो,  ती डाक्टर तिनै रञ्जन थिए ।  अनि बच्चाकी आमा थिइन रश्मी । छिमेकी गाँउका उनीहरु प्लसटू सम्म संगै पढेका मात्रै थिएनन् गहिरो प्रेममा परेका जोडि मानिन्थे ।

    तर प्लसटू सकेर डाक्टरी पढ्न शहर छिरेको रञ्जन कता बिलाए बिलाए । आज १२ बर्षपछि उनीहरुको अकस्मात भेट भएको छ । एउटा डाक्टर र अर्को बिरामी बच्चाको आमाको रुपमा ।

    डाक्टर रञ्जन थोरै नर्भस देखिन्छन, अलि हिचकिचाउदै भन्छन्, ‘सरी रश्मी ! “

    …………………………………………………………….

    अहिले समय बदलिएको छ, परिस्थिति पनि फेरिएको छ । तर दुबैको आँखामा १२ बर्ष अगाडीको प्रेम झल्किएको छ । संगै घुमेका, डुलेका भोगेका यादहरु ताजा भएर आएका छन् । तर दुबैले ती यादलाई व्यक्त गर्न सक्दैनन् । दुबैले एकअर्कालाई हेरिमात्र रहन्छन् ।

    संगै जिउने मर्ने कमस खाएर हराएको प्रेमी  रश्मीले यस्तो अवस्थामा भेटिन जतिवेला आफू आफ्नै श्रीमान र बच्चाको साथमा थिइन् ।

    बच्चाको ज्वरो घटेको छैन् । काखमा बच्चा छ तर उनी भन्न सक्दिनन् ‘डाक्टर साब यसको जाँच छिटो गर्नुस न ।’  न त डाक्टर रञ्जनले ‘तपाईँको बच्चालाई के भएको छ खै यता दिनुस’ भनेर माग्न नै सक्छन् । ‘बाह्र बर्षसम्म कहाँ हरायौँ ?’ भनेर न रश्मीले सोध्न सक्छिन् । न ‘यसकारण हराइयो’ भनेर डाक्टर रञ्जनले आफूलाई प्रष्ट्याउन सक्छन् । तर बाह्र बर्ष अघिका प्रेमी प्रेमिकाले आज त्यहि पुरानो दिन याद गरिहेका छन् । संगसंगै हात समाई खोली तरेको तरेको, हाटबजार मेला घुमेको, एकान्तमा बसेर मायाका कुरा गरेको आदि आदि ।

    …………………………………………………………………..

    काखमा छोरो बोकेकी रश्मीका आँखा त्यत्तिकै रसाउछन् । डाक्टर रञ्जन उनलाई हेरेर भावुक बन्छन् । रश्मीका आँखाका डिलसम्म आशु भरिएको छ । विस्तारै रञ्जन अघि बढ्छन् । दुबै हातका औला अघि बढाउछन् र रश्मीका आशु पुछिदिन्छन् । अनि विस्तारै दुबैको अधर नजिकिदै जान्छ । तर त्यो अवस्थासम्म पुग्नै लाग्दा किनहो कुन्नि काखको बच्चा रोइदिन्छ । दुबैजनाले आफूलाई सम्हाल्छन् ।

    …………………………………………………………………….

    ढोका थुनेको निक्कै बेरमा पनि रस्मी बाहिर ननिस्कदा बाहिर श्रीमान् छटपटिएका छन् । उनी यता उती गर्छन् । ठिक त्यहि बेला बच्चा सहित अर्को जोडी हतारिदै डाक्टरको कोठामा छिर्न खोज्छन् । बाहिर बसेका रस्मीका श्रीमान्ले उनीहरुलाई रोक्छन र भन्छन्, ‘एक छिन है भित्र चेकअप हुँदैछ ।’

    # अधिकारी कान्तिबाल अस्पतालमा कार्यरत नर्स हुन् 


    Facebook Comment


    थप समाचार