न्याम्सको ‘पीजी इन्ट्रान्स’ परीक्षामा ८७६ जना चिकित्सक सहभागी
काठमाडौँ, १५ साउन – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले आज सञ्चालन गरेको स्नातकोत्तर ( पीजी) तहको प्रवेश परीक्षामा ८७६ जना विद्यार्थी सहभागी भएका छन् । ती मध्ये ७० जना सरकारी चिकित्सक रहेको बुझिएको छ ।
नेपाल मेडिकल काउन्सिलले न्याम्सलाई यसबर्षका लागि दिएको ११८ वटा कोटा दिएको थियो । सोही कोटामा निशुल्क अध्ययन गर्नका लागि विद्यार्थीहरुले आज परीक्षा दिएका हुन् । निजी कलेजहरुले झण्डै एक करोड रुपैयाँसम्म लिने पीजी तहको अध्ययनका लागि न्याम्समा भने शुल्क लाग्दैन् । छनौट भएको सबै विद्यार्थीको खर्च सरकारले बेहोर्छ ।
न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले तोकिएको कोटामध्ये पहिलो प्राथमिकतामा सरकारी चिकित्सक पर्ने र बाँकी कोटामा मेरिट लिष्टको आधारमा छनौट हुने बताए । कोटामा छनौट गर्नुपर्ने भएकोले नतिजा आउन अझै २-३ दिन लाग्नसक्ने बताए ।
आजको परीक्षामा छनौट हुनेहरुले विभिन्न १३ वटा विधामा अध्ययन गर्ने अवसर पाउछन र विशेषज्ञ चिकित्सकको रुपमा नाम दर्ज गर्न पाउछन् । आजको परीक्षा ललितपुरस्थित लिटिल एन्जल्स कलेजमा भएको थियो ।
सम्पर्क इमेल : [email protected]