डाक्टर र नर्सको पढाइमा पनि नेपाली सेना नै अब्बल

nepali army medical collageकाठमाडौँ, १० जेठ – स्थापनाको चौथो वार्षिकोत्सव मनाइरहँदा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालले चिकित्साशास्त्रतर्फ एमबिबिएस र नर्सिङका वार्षिक परीक्षामा अरु प्रतिस्पर्धीलाई पछि पारेको छ । उक्त संस्थानमा हाल एमबिबिएसतर्फ पाँच समूहमा गरी ५७८ छात्रछात्रा अध्ययनरत छन् ।

त्यस्तै, प्रमाणपत्र, स्नातक र बिएस्सी नर्सिङमा गरी उक्त संस्थानमा हाल ३४१ जना छात्रा नर्सिङ महाविद्यालयमा अध्ययन गरिरहेको संस्थानले जनाएको छ । एमबिबिएस र नर्सिङ विषयमा भर्नाका लागि लिएको प्रारम्भिक परीक्षामा उत्तीण हुनेमध्ये उत्कृष्ट छात्रछात्राको पहिलो रोजाइ नेपाली सेना स्वास्थ्य विज्ञान संस्था नै पर्ने गरेको छ ।

विश्वविद्यालयले लिने वार्षिक परीक्षाको नतिजाले उक्त संस्थानमा अध्ययनरत विद्यार्थीलाई नै अब्बल सावित गरेपछि विद्यार्थीको भर्नाको रोजाइमा पर्दै आएको हो । त्यहाँ अध्ययनरत विद्यार्थी वार्षिक परीक्षाको नतिजामा मात्रै होइन, अरु ज्ञान, सीप र अनुशासनमा समेत पहिलो श्रेणीमा प्रथम नै हुने गरेका छन् ।

नेपाली सेनाका बहालवाला, भूपू, गैरसरकारी तथा विदेशी गरी उक्त संस्थानमा हाल ९१९ छात्रछात्रा अध्ययन गरेकामा संस्थानले उनीहरुमध्ये जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई झन्डै वार्षिक रुपमा रु छ करोड बराबरको छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य क्षेत्रमा जनताको पहुँच स्थापित गर्न संस्थानले आफ्नो क्षमता अभिवृद्धि गर्दै लैजाने उद्देश्य अघि सारेको छ । सैनिक कल्याणकारी कोषबाट सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान गैर नाफामूलक संस्थाका रुपमा सञ्चालन हुँदै आएको छ । विश्वविद्यालयबाट हुने गरेको मूल्याङ्कनमा पनि उक्त संस्थानले सबैभन्दा उच्चतम अङ्क प्राप्त गरेको छ ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले विश्वविद्यालयले तोकेका सबै मापदण्ड पूरा गरेर अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा गौरव गर्न योग्य जनशक्ति उत्पादनमा ध्यान पु¥याउन संस्थानका पदाधिकारीलाई निर्देशन दिए । उनले भने,“स्वास्थ्य क्षेत्रमा राष्ट्रको आवश्यकतालाई मध्यनजर गर्दै थप कार्यक्रम सञ्चालन गरिनेछ ।”

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले छोटो अवधिमै उत्कृष्ट नतिजा हासिल गर्न सफल उक्त संस्थानबाट अब चिकित्साशास्त्रतर्फ एमडी र एमएसका कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको बताए ।

संस्थानका कार्यकारी निर्देशक प्राडा प्रकाशराज पाण्डेले संस्थाले प्रमाणपत्र तहमा स्वास्थ्य विज्ञानसहित पाँच विषय, एमएस्सी नर्सिङका कक्षा निकट भविष्यमै सञ्चालन गर्ने लक्ष्य लिइएको जानकारी दिए ।

संस्थानका सहकार्यकारी निर्देशक अवकाशप्राप्त सहायकरथी भैरवकुमार हमाल, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका निमित्त डिन विमलकुमार सिन्हा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा, नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष चन्द्रकला शर्मा र चिकित्साशास्त्र महाविद्यालयका प्रिन्सिपल सहायक रथी गजेन्द्र श्रीवास्तवले वीरताको इतिहास बोकेको तथा अनुशासन र व्यावसायिकताको पहिचान राखेको नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य विज्ञान संस्थानबाट उत्पादन हुने जनशक्ति प्रतिस्पर्धामा कुनै पनि हिसाबले दोस्रो नहुँने बताए ।

समारोहमा विश्व विद्यालयद्वारा वार्षिक रुपमा सञ्चालित चिकित्साशास्त्र र नर्सिङ सङ्कायका तर्फका विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रछात्रालाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *