कानून अटेरी गर्नेलाई मन्त्रालयमा ‘स्पेशल चिया’

mohp

काठमाडौँ – नौ महिना देखी सरकारी कानूनको धज्जी उडाउदै आएको चुरोट उत्पादक कम्पनी सूर्य नेपालका पदाधिकारीले सोमबार स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठलाई भेटेका छन् । उनीहरुले साढे पन्ध्र महिना अघिको सरकारी निर्णय खारेजी गर्न सचिवसंग माग गरेका छन् । तर आफूले भने स्पेशल चिया खुवाएर पठाएको सचिव श्रेष्ठले बताएका छन् ।

सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश राख्नु पर्ने व्यवस्था खारेज गर्न आएका उनीहरुलाई किन कानूनको अटेरी गरेको भनेर खासै सोधिएन । ‘उनीहरुको कुरा सुनियो , चिया खुवाउने कुरा भयो । पछि फेरी छलफल गर्ने गरि टुङ्गियो ,’ भेटमा सहभागी एक सदस्यले नेपाली हेल्थसंग भने , ‘तर कानून किन अटेरी गरेको भनेर भन्ने आट खासै भएन । जुन कुरा भन्नु पर्ने थियो ।’

‘कानून अटेरी गर्नेलाई सम्मान साथ स्पेशल चिया खुवाइयो तर कानूनको किन अटेरी गरेको भनेर सोधिएन,’ स्रोतले भन्यो ।

सरकारले १२ कात्तिक २०७१मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा ९ लाई संसोधन गर्दै नयाँ निर्देशिका जारी गरेको थियो । सो निर्देशिका अनुसार २ जेठ २०७२ देखी बजारमा आउने सबै खाले सुर्तीजन्य पदार्थको प्याकेट तथा रयापर्सको कुलभाग मध्ये ९० प्रतिशत भागमा चेतावनीमुलक चित्रंअंकित स्वास्थ्य सन्देशले छोपिनुपर्ने व्यवस्था थियो । तर नेपालकै प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपालले त्यसयताको नौ महिना सम्म अटेरी गर्दै आएको छ ।

उद्योगीको अटेरी प्रति मौन बस्दै आएको स्वास्थ्य मन्त्रालयले त्यतिवेला झस्कियो जतिवेला जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र प्रहरीले काठमाडौँका विभिन्न ठाँउबाट ठूलो परिमाणमा मापदण्ड विपरितका चुरोट कब्जामा लिई सील गरयो ।

उद्योगीहरुको प्रभावमा परी मौन बसेका मन्त्री चौधरीले तत्काल सचिव श्रेष्ठलाई निर्देशन दिए यो के भई रहेको छ । अनुगमन र कब्जामा लिने काम बन्द गर्ने व्यवस्था कसरी हुन्छ मिलाउने कोशिश गर्नुस् । सोही अनुसार सोमबार विहान उद्योगीहरु तयारीका साथ मन्त्रालयमा आएका हुन् ।

सूर्य नेपालमा प्रमुख रविभक्त श्रेष्ठ, म्यानेजर उत्तम कार्की लगायतका पदाधिकारीहरु सचिव श्रेष्ठको पुगेका थिए । उनीहरुले ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश छाप्न नसक्ने भन्दै निर्णय सच्याई ७५ प्रतिशतनै राख्न आग्रह गरेका थिए । जवाफमा श्रेष्ठले सच्याउनका लागि गाह्रो हुने बताएका थिए । ‘उहाँहरु आउनु भएको थियो । सौर्हादपूर्ण बाताबरणमा कुराकानी भयो । स्पेशल चिया खुवाएर पठाएँ’  सचिव श्रेष्ठले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *