पाठेघरको मुखको क्यान्सरबिरुद्धको एच.पी.भी. खोपको शुभारम्भ आज

hpv-vaccine

काठमाडौँ – भविस्यमा लाग्नसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन बालिकाहरुलाई दिइने खोप ‘ह्युमन प्यामिलोमा भाइरस(एचपीभी)’को शुभारम्भ आज पोखराबाट गरिने भएको छ ।

अहिले विहान ११ बजे एक विशेष कार्यक्रम गरी खोपको शुभारम्भ गरिन लागेको अधिकारीहरुले बताएका छन् । यद्धपी बालिकाहरुलाई खोप आगामी आइतबार अर्थात १६ फागुन देखी नै सुरु गरिने छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख मुकुन्द गौतमले आज पोखरामा शुभारम्भ गरिएपनि स्कुल स्कुलमा गएर बालिकाहरुलाई खोप लगाउने कार्य आइतबारबाट मात्रै हुने बताए । उनले आइतबारबाट पोखरा र कास्कीका १० बर्ष उमेरका १५ हजार बढी बालिकाहरुलाई खोप दिन लागिएको जानकारी दिए ।

यो उमेर समूहका बालिकाहरु कक्षा ६ मा अध्यय्न गर्ने अनुमान गर्दै महाशाखाले स्कुलमै गएर बालिकाहरुलाई खोप लगाइदिने योजना बनाएको छ । स्कुल बाहिरका बालिकाहरुलाई भने स्थानीय स्वास्थ्य चौकी वा खोप केन्द्रमा गएर लगाउन सक्नेछन् ।

गौतमका अनुसार अहिले खोप लगाएका बालिकाहरुलाई अर्को छ महिना पछि दोस्रो डोज दिइने छ । एचपीभी खोप ६ – ६ महिनामा दुई डोज दिनुपर्ने हुन्छ ।

महंगो खोपको सुचीमा पर्ने एचपीभी खोप द ग्लोवल एलाइन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले निशुल्क उपलव्ध गराएको हो । बेल्जियमको ग्लास्कोमिथेक्लिन बायोलोजिकल एसएबाट गत बुधबार १७ हजार ६ सय भाइल खोप आएपछि खोप अभियानले तिब्रता पाएको हो । स्वास्थ्य मन्त्रालयले पाइलटिङको रुपमा चितवन र कास्की जिल्ला छनौट गरेको थियो ।

नेपाली महिलाहरुको ज्यान लिने क्यान्सर रोगहरुमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बर मानिन्छ । हरेक बर्ष करीव ६ हजार महिलाहरुले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने गरेका छन् ।

खोपको शुभारम्भ कार्यक्रमका लागि स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरी, बालस्वास्थ्य महाशाखाका निर्देशक डा राजेन्द्र पन्त, विश्व स्वास्थ्य संगठन (डव्लुएचओ),युनिसेफका नेपालस्थित दातृनिकायका प्रतिनिधीहरु पोखरा पुगिसकेका छन् ।


Leave a Reply

Your email address will not be published.