नेपालीले खान्छन् दोब्बर बढी नून

salt1

काठमाडौँ – शरीरका लागि आवश्यक भन्दा बढी नून खाने गरेका कारण धेरै नेपालीमा उच्चरक्तचापको समस्या भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले नून सकेसम्म कम खान आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य संगठन(डव्लुएचओ)को मापदण्ड अनुसार एक जना व्यक्तिले प्रतिदिन ५ ग्राम भन्दा कम नून खानु राम्रो हुन्छ । तर नेपालीहरुले प्रतिदिन औषत ११ ग्राम भन्दा बढी नून प्रयोग गर्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । अनुसन्धानले नेपालको शहरी क्षेत्रमा बसोबास गर्ने मध्ये १८ बर्ष माथिका करीब ३५ प्रतिशतमा उच्चरक्तचापको समस्यामा रहेको समेत बताएको छ ।

नेपाल एनसीडी एलायन्सका अध्यक्ष समेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बढी नून शरीरका लागि घातक हुने भन्दै सकेसम्म कम गर्न सुझाव दिन्छन् । उनी भन्छन्, ‘आवश्यकता भन्दा दोब्बर बढी नून खाएकै कारण शारीरिक रुपमा बढी सक्रिय हुने ग्रामिण क्षेत्रका मानिसमा समेत रक्तचापका समस्या बढेको छ ।’

उता अर्का बरिष्ट मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल नून र रक्तचापबीच सिधा सम्वन्ध भएको बताउछन् । ‘यो प्रमाणित भइसकेको छ कि नूनको मात्रा बढी भयो भने उच्चरक्तचाप बढ्छ र नूनको मात्रा कम भयो भने उच्चरक्तचाप पनि घट्छ’  तर उनले नून कम खाएर मात्रै सबै रक्तचाप नियन्त्रणमा आउछ भन्ने ठान्नू गलत रहेको बताए । डा. अनिलले अत्यधिक नूनको प्रयोगले मुटु र रक्तनलिसम्वन्धी ( हृदयघात र मस्तिस्कघात ) समस्याहरुको सम्भावना बढ्ने बताए ।

नूनले कसरी बढाउछ रक्तचाप ?

मिर्गौलाले रगतलाई शुद्धीकरण गर्ने क्रममा रगतमा भएको पानी रक्तनलीको कोषहरुको हुँदै तान्छ र त्यसलाई पिसावको रुपमा बाहिर फाल्ने गर्छ । यो प्रक्रियामा प्रमूख भूमिका नूनमा पाइने सोडियमको हुन्छ ।

मिर्गौलामा सोडियम क्लोराइडको मात्रा रगतमा भन्दा बढी भयो भने मात्रै यो प्रक्रिया सम्भव छ । तर धेरै नून खानाले रगतमा नै सोडियम क्लोराइडको मात्रा बढी हुन्छ । जसले गर्दा रगतमा भएको पानीलाई मिर्गौलाले तान्ने कार्य (अस्मोसिस) भनिन्छ त्यो हुन् पाउदैन् ।

रगतमा भएको पानी मिर्गौलामा नगएपछि त्यसले रगतकै आयतन बढाउछ जसले गर्दा रक्तनलीमा रगतको चाप बढी हुन्छ । र स्वभावैले रक्तचाप बढ्छ ।

डा. रेग्मी अत्यधिक सेवन स्वस्व शरीरका लागि नकारात्मक हुने बताउछन् । त्यसैले उनले सकेसम्म नूनको प्रयोग घटाउनमै जोड दिने गर्छन ।

अर्का चिकित्सक डा अनिलले नूनलाई नियन्त्रण गर्नु राम्रो तर बन्दै गर्न नहुने बताउछन् । ‘यसले अर्को समस्या निम्याउन सक्छ । त्यसैले नूनको सेवनदर घटाउँ तर पुरै बन्द नगरौँ , उनी भन्छन् ।

डा. रेग्मीले नेपालीहरुको अधिकांश खानामा नून प्रयोग भएकोले पनि थाहै नपाई नूनको मात्रा बढी हुने बताउछन् । दाल तरकारी अचार देखी जंकफूडसम्म नूनको प्रयोग हुन्छ । यसले शरीरमा आफसेआफ नूनको मात्रा बढाउछ ।

रक्तचाप बढी भएपछि आफै नून कम गरी बस्नुपनि खतरा

डा. अनिलले कतिपयले रक्तचाप बढी भएका बेला आफै नून क मगर्ने प्रयास गर्दा कतिपय व्यक्तिको केश विग्रने गरेको बताउछन् । ‘नूनको अत्यधिक प्रयोगले रक्तचाप त बढाउछ नै तर सबै रक्तचाप नूनको प्रयोगले बढेको भन्ने पनि होइन । त्यसैले सबैभन्दा पहिले चिकित्सकलाई देखाउनु बुद्धिमानी ठहर्छ । चिकित्सकको चेकजाँच पछि मात्रै के के गर्ने के के नगर्ने भन्ने निर्णय लिनुपर्दछ ।’

डा. रेग्मी पनि रक्तचाप बढ्ने विविध कारणमध्ये एक कारण नून भएको बताउदै यदि रक्तचाप बढी हालेको खण्डमा तत्काल चिकित्सकको परामर्स लिनुपर्नेमा जोड दिन्छन् ।

यसैबीच नेपाल एनसीडी एलायन्सले विश्वमा जस्तै नेपालमा समेत नसर्ने रोगको जोखिम बढेको भन्दै त्यसलाई कम गर्न स्वस्थ खानपान र स्वस्थ जीवनशैली अपनाउन आवहान गरेको छ ।

एलायन्सले शारीरिक रुपमा क्रियाशील रहन, दैनिक शारीरिक व्यायम गर्न, साधा खानापिन गर्न, तथा तनाव कम गर्न, जंकफुड सकेसम्म नखान आवहान गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *