दुर्गममा उद्धार गर्नुपर्ने ‘केस’ नै भेटेनन् ‘एयर एम्वुलेन्स’ले

काठमाडौँ – halicoptor

नेपालमा सुत्केरी हुँदा वा सुत्केरीपछि अत्यधिक रक्तश्राव भएर वार्षिक करिब एक हजार आमाहरूले ज्यान गुमाउने गरेका छन् । समयमै उद्धार र उपचार हुन नसकेर मुलुकका दुर्गम भेगमा सुत्केरीको मृत्यु भएका खबर आउने क्रम जारी छ । तर, दुर्गमका एयर एम्बुलेन्सले उद्धार गर्नुपर्ने ‘केस’ नै भेटेका छैनन् ।

उद्धार गर्नुपर्ने ‘केस’ नपाउँदा एयर एम्बुलेन्सका लागि छुट्याएको न्यून बजेटसमेत फ्रिज हुने गरेको छ । सरकारले दुर्गम क्षेत्रका महिलाहरूमा सुत्केरीका वेला आउन सक्ने जटिल अवस्थाका वेला तत्काल ‘रेस्क्यु’ गरी सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन हेलिकोप्टर तथा हवाईजहाज भाडामा लिई ‘एयर एम्बुलेन्स’ सेवा दिने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७०/७१ मा २५ लाख रुपैयाँ पूरै फ्रिज, २०७१/७२ मा ३० लाख रुपैयाँ छुट्याएकोमध्ये आधा फ्रिज र चालू आवका लागि छुट्याएको ४० लाख रुपैयाँमध्ये अहिलेसम्म खर्च नहुनुले एयर एम्बुलेन्सले जटिल ‘केस’ नपाएको स्पष्ट हुन्छ । तर, स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूले दुर्गमका सुत्केरीमध्ये १५ प्रतिशत ‘केस’ जटिल हुने र रिफर गर्नैपर्ने अवस्थामा रहेको जानकारी दिने गरेका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाअन्तर्गतको यो कार्यक्रमका लागि मन्त्रालयले पछिल्लो तीन वर्षमा ९५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटले पाँच विकास क्षेत्रमा वार्षिक पाँचजनाको दरले कुल १५ वटा जटिल ‘केस रेस्क्यु’ गर्ने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म ‘रेस्क्यु केस’ को संख्या तीनवटा मात्रै पुगेको छ ।

महाशाखाकी निर्देशक डा. पुष्पा चौधरीले दुर्गमका जटिल ‘केस’ आएसम्म ‘रेस्क्यु’ गर्ने गरेको भन्दै ‘केस’ नै नआउनु झन् राम्रो भएको बताइन् । तर, स्वास्थ्यका अधिकारीहरू नै ‘केस’ सम्बन्धित ठाउँमा नपुग्दै सुत्केरीको ज्यान जाने गरेको बताउँछन् । ‘डोल्पाको सालदाङ गाविस बैतडी जिल्लाभन्दा ठूलो छ । डोल्पा पूरै महाकाली अञ्चलभन्दा ठूलो छ । गाविसमा रहेको स्वास्थ्यचौकी पुग्न वडाबासीलाई चार–पाँच दिन लाग्छ । ती मानिसले जटिल ‘केस’ भयो भने कहिले सदरमुकाम पुर्‍याउने ? सदरमुकामले कहिले बाहिरका लागि रिफर गर्ने ? क्षेत्रीय स्वास्थ्य कार्यालयलाई कसरी समन्वय गर्ने ? कहिले सुविधासम्पन्न अस्पतालमा पुर्‍याउने ?’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने ।उनले समयमै खबर आए पनि कहिलेकाहीँ मौसमको गडबडीले हेलिकोप्टर पुग्न नसक्ने समस्या भएको बताए ।

तीन वर्षमा तीनवटा मात्र ‘केस’

पाँच विकास क्षेत्रमा वार्षिक पाँचजनाको दरले कुल १५ वटा जटिल ‘केस रेस्क्यु’ गर्ने लक्ष्य लिइएको थियो । तर, अहिलेसम्म ‘रेस्क्यु केस’को संख्या तीनवटा मात्रै पुगेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाकी निर्देशक डा. पुष्पा चौधरीले बताइन् ।

बजेट नै फ्रिज

दुर्गमका एयर एम्बुलेन्सले उद्धार गर्नुपर्ने ‘केस’ नै नभेटेपछि सरकारले छुट्याएको न्यून बजेटसमेत फ्रिज हुने गरेको छ । आर्थिक वर्ष ०७०/७१ मा २५ लाख र ०७१/७२ मा १५ लाख रुपैयाँ फ्रिज भएको छ । चालू आवका लागि छुट्याएको ४० लाखमध्ये अहिलेसम्म सबै रकम बाँकी छ । तीन वर्षमा सरकारले ९५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

हेलिकोप्टर जति सबै काठमाडौंमै

सरकारले दुर्गम क्षेत्रका सुत्केरीका लागि एयर एम्बुलेन्सका रूपमा पठाउने हेलिकोप्टरजति सबै काठमाडौंमै रहने गरेका छन् । सुत्केरीका वेला जटिल अवस्था उत्पन्न भए तत्काल ‘रेस्क्यु’ गरी सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन हेलिकोप्टर तथा हवाईजहाज भाडामा लिई ‘एयर एम्बुलेन्स’ सेवा दिने व्यवस्था गरिएको छ । तर, काठमाडौंबाट हेलिकोप्टर मगाउँदा मगाउँदै कहिलेकाहीँ सुत्केरीको मृत्यु हुने गरेको छ भने कतिपय अवस्थामा मौसमले साथ नदिने गरेको छ ।

  • आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “दुर्गममा उद्धार गर्नुपर्ने ‘केस’ नै भेटेनन् ‘एयर एम्वुलेन्स’ले

  1. I wondered by reading this news. The needy community has no information about this facility and they don’t know how and who to contact for this service. Few days ago one pregnant woman with placenta previa from Mugu was rescued by UNICEF. Even DHO Mugu denied to manage to send her to Nepalgung from Mugu by plane. Another woman from Mugu VDC of Mugu district with delivery related complication, had to pay around 6.5 lakh for air lifting to save life. But the budget for this purpose is going to freeze.

Leave a Reply to Bir Bahadur Kuwar Cancel reply

Your email address will not be published. Required fields are marked *