तलब नपाएको भन्दै शिक्षण अस्पतालका आवासीय डाक्टरले काम छाडे

काठमाडौँ, २६ पुस । आठ महिना देखि निर्वाह भत्ता (तलव) नपाएपछि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले काम छाडेका छन् । महाराजगञ्ज मेडिकल क्याम्पसमा एमडी/एमएस/एमसीएच लगायतका विषयमा अध्ययनरत उनीहरुले नियम अनुसार पाउनुपर्ने भत्ता रोकिएको भन्दै दवाव दिन काम छाडेका हुन् ।

‘यस विषयमा हामीले पटक पटक क्याम्पसको ध्यानाकर्षण गराएका हौँ । हुँदैछ भन्ने आश्वासन मात्रै पाइयो । काठमाडौँको महंगीमा यति लामो समयसम्म भत्ता रोकिदा दैनिक गुजारामा समेत अप्टेरो पर्न थाल्यो त्यसैले हामी काममा नजाने निर्णय गरयौँ । आजबाट हामीले डिउटी बहिस्कार गरेका छौँ,’ नेशनल रेजिडेन्टस डक्टर्स एसोशिएसनका अध्यक्ष डा. सुमित पाण्डेले बताए । उनका अनुसार सेवा बहिस्कार गर्ने आवासीयको संख्या करीब २०० छ ।

यता महाराजगञ्ज मेडिकल क्याम्पसका प्रमुृख प्राडा प्रताव नारायण प्रसादले स्वास्थ्य मन्त्रालयले बजेट उपलव्ध नहुँदा आवासीय विद्यार्थीलाई भत्ता उपलव्ध गराउन नसकेको बताए । ‘आठ होइन नौ महिना भैसक्यो । स्वास्थ्य मन्त्रालयले हाम्रो क्याम्पसका लागि उपलव्ध गराउनुपर्ने रकम पठाएको छैन । हामीसंग पैसा नभएपछि के दिने ?’ प्राडा प्रताव नारायण प्रसादले भने । उनले भत्ता वापतको रकम १९ करोड जति बक्यौँता रहेको बताए ।

एमडीएमएस निशुल्क गरेको सरकारले सो तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आवासीय सुविधा तथा निर्वाह भत्ता भनेर मासिक ३३ हजार ७ सय रुपैयाँ तलव भत्ताको रुपमा उपलव्ध गराउँदै आएको छ ।

महाराजगञ्ज क्याम्पसका आवासीय विद्यार्थीको आवासीय भत्ता रोकिएपनि वीर, पाटन र धरानका विद्यार्थीहरुको भत्ता नरोकिएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *