हेपाटाइटिस रोग के हो ? यसबाट कसरी जोगिने ?

– डा. अखिलेश कुमार काश्यप (पेट तथा कलेजो रोग बिशेषज्ञ)
  • डा. अखिलेश कुमार काश्यप 

हेपाटाइटिस भन्नाले बिभिन्न संक्रमणका कारणले कलेजो सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ ।

हेपाटाइटिस (ए देखी इ सम्म) जम्मा पाँच प्रकारका हुन्छन् ।

यो लेख तुलनात्मक रुपमा बढी घातक मानिएको हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सी’ का बारेमा केन्द्रीत छ ।

नेपालको कुल जनसंख्याको ०. ९ प्रतिशत अर्थात  करिव २ लाख ५० हजार मानिसहरुमा हेपाटाइटिस ‘बी’ र लगभग १ लाख ३० हजार मानिसमा हेपाटाइटिस ‘सी’ भएको अनुमान गरिएको छ ।

हेपाटाइटिस बी’  र ‘सी’ का कारण हरेकबर्ष संसारमा १३ लाख मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

यसले के गर्छ ?
हेपाटाइटिस बी’र ‘सी’  ले कलेजोलाई गम्भिर किसिमको क्षति गराएर कलेजोको क्यान्सर गराउँदछ र मानिसको अकाल मृत्यु हुन्छ । कलेजोको क्यान्सर गराउने कारणहरुमध्ये आधाभन्दा बढी हरेपाटाइटिस बी’र ‘सी’  ले गराउने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् । पछिल्ला दिनहरुमा एचआइभी एड्स , क्षयरोग र मलेरिया नियन्त्रण तथा उपचारमा लगानी बढाइए पनि हेपाटाइटिसमा ध्यान जान नसकेका कारण यसबाट हुने मृत्युदर बढ्दो क्रममा रहेको छ ।

यसबारे खतरनाक र आश्चर्यजनक तथ्य के छ भने, हेपाटाइटिस बी’ को संक्रमण भएका ९० प्रतिशत मानिहरुलाई र हेपाटाइटिस ‘सी’ को संक्रमण भएका ८० प्रतिशत मानिसहरुलाई यसबारे जानकारी नै नभएको हुनाले उनीहरुले आफन्त र साथीभाईलाई पनि संक्रमित बनाइरहेका छन् ।

हरेपाटाइटिस बी’ आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखी ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस बी’  दीर्घरुपको संक्रमणको रुपमा देखिन्छ जसमध्ये एक चौथाई युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् ।

भाइरल हेपाटाइटिसबारे बिश्वव्यापी तथ्यहरु : 

  •  हेपाटाइटिस बी र सीबाट हुने मृत्युदर एचआइभी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदर भन्दा बढी छ ।
  • कलेजोको क्यान्सरबाट मृत्यु हुने तीन मध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन् ।
  • संसारभरका ३० करोड भन्दा बढी मानिसहरुलाई आफु संक्रमित भएको थाहा नै छैन ।
  • एक हजार भन्दा कम मूल्यमा पाईने खोप उपलब्ध भएतापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।
  • क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् ।
  • नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव २ लाख ५० हजार मानिसहरुमा हेपाटाइटिस बी’ र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस ‘सी’  अनुमान गरिएको छ ।

भाइरल हेपाटाइटिस बी’र ‘सी’  सर्ने कारण तथा बच्ने तरिकाहरु :

  • संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी’र ‘सी’  को परिक्षण गर्ने । (हेपाटाइटिस बी मा यो संभावना बढी हुन्छ।)
  • आइभी ड्रग युजर्सहरुमा यो रोग सार्ने जोखिम बढि रहन्छ त्यसैले एक आपसमा सिरिन्ज सेयर गर्नु हुँदैन ।
  • रक्तसंचारका क्रममा साबधानी अपनाउने र हेपाटाइटिस बी’र ‘सी’  को परिक्षण गरेरमात्र रक्तदान गर्ने ।
  • मेडिकल उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
  • असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने संभावना बढी हुन्छ । (हेपाटाइटिस ‘बी’ मा यो संभावना बढी हुन्छ।)
  • ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरेको औजार प्रयोग गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ । (हेपाटाइटिस ‘सी’ सी मा यो संभावना बढी हुन्छ।)
  • ब्यक्तिगत सरसफाइमा प्रयोगहुने औजार तथा उपकरण जस्तैः टुथ ब्रस, रेजर आदि शेयर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
  • हेपाटाइटिस विरुद्धको खोप लगाएर आफुलाई हेपाटाइटिस ‘बी’ भन्ने घातक रोगबाट सुरक्षित गर्न सकिन्छ ।

 

# डा. काश्यप ग्राण्डी अस्पतालमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *