स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्राध्यापक उमाकान्त प्रसादको नाम प्रस्ताव

काठमाडौँ, ११ असार । स्वास्थ्यको सबैभन्दा ठूलो सञ्जाल बन्ने तरखरमा रहेको निकाय स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्राध्यापक उमाकान्त प्रसादको नाम प्रस्ताव गरिएको छ । रौतहट घर भएका प्रसाद त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक हुन् ।

स्रोतका अनुसार उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्राध्यापक प्रसादलाई बोर्ड अध्यक्ष बनाउने प्रस्ताव मन्त्रिपरिषदको कार्यालयमा गत शुक्रबार नै दर्ता गराइसकेका छन् । सम्भवत आगामी मन्त्रिपरिषदको बैठकले उनको नाममा निर्णय गर्नेछ ।

यसअघि बोर्ड अध्यक्षका लागि पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीको नाम प्रस्ताव गरिएको थियो । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा उप्रेतीको नाम अघि सारेकी थिइन । तर स्वास्थ्यको जिम्मेबारी आफूसंगै राखेका प्रधानमन्त्री केपी ओलीले सो प्रस्तावलाई निर्णय गर्न सकेनन् ।

त्यसो त राज्यमन्त्रीले लगेका थुप्रै प्रस्तावहरु प्रधानमन्त्री ओलीले निर्णय गरेका थिएनन् । त्यतिवेला राज्यमन्त्री र पार्टीका विभिन्न समूहबीचको आन्तरिक द्धन्दका कारण निर्णय हुन नसकेको बताइन्छ ।

त्यसबीचमा संघीय समाजवादी फोरम सरकारमा गएपछि उपप्रधान सहित स्वास्थ्य मन्त्री बनेका यादवले रिक्त पदमा नियुक्तिको प्रक्रिया अघि बढाएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *