बयलपाटा अस्पतालका चिकित्सकले बुढाकोट पुगेर दिए नि:शुल्क स्वास्थ्य सेवा

अछाम, २७ जेठ ।  ‘नियमित स्वास्थ्य जाँच गराअौँ, निरोगी  बनौँ’ भन्ने नाराका साथ साँफेबगर नगरपालिका वडा नं ९, बुढाकोटमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना  गरिएको छ ।  बुढाकोट स्वास्थ्य चौकीद्वारा आयोजित उक्त शिविरमा ९ नं वडा कार्यालयको समन्वय र बयालपाटा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

शिविरबाट करिब ४०० भन्दा बढी बिरामी लाभान्वित भएको वडाध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

शिविरमा मुख्यतः ग्यास्ट्राइटिस (पेटको समस्या), दम, खोकी, मधुमेय, उच्च रक्तचाप, लुतो, हातखुट्टा तथा जोर्नी दुखाइ सम्बन्धी बिरामीहरू धेरै सङ्ख्यामा आएको शिविरमा सहभागी डा . विष्णु भण्डारीले भने ।

उक्त शिविरमा डाक्टरहरूद्वारा स्वास्थ्य जाँच गरिनुका साथसाथै ल्याव परीक्षण गरी निःशुल्क अौषधी समेत वितरण गरिएको थियो । शिविरमा सेवा दिने डाक्टरहरूमा डा. भण्डारीसंगै, डा. विकास गौचन, र डा. नवीन भट्ट थिए । यस्तै रगत र पिशाबको ल्याव परीक्षण गर्न कमल विष्ट र माधव पण्डित संलग्न थिए ।

‘सुगममा शिक्षा र सीप हासिल गरी दुर्गम र विकट ठाउँमा गएर सेवा दिनु नै एक सफल डाक्टरको परिचय हो,’  डा. बिष्णुले भने । त्यसैगरी बयालपाटा अस्पतालमा आवद्ध भई दोस्रो दिनमै सेवा गर्न खटिन गएका डा. नवीन भट्टले भने, ‘आम मानिसको मुहारमा उपचार पाउँदा देखिने खुसीका रेखाहरूले आफ्नो कहरलाई बिर्साइदिन्छ । सुदूरपश्चिम अब विकटताको हैन, स्वस्थ समाजको चिनारी पनि बन्नुपर्छ र त्यसकै निम्ति गोरेटो कोर्ने जिम्मेवारी हाम्रो पनि हो’  डा भट्टले भने ।

अस्पतालका पूर्व निर्देशक समेत रहेका डा विकास गौचनले भने, ‘सुदूरपश्चिमको स्वास्थ्यको वैशाखी रहेको बयालपाटा अस्पताल बिरामीहरूकै सेवाका लागि चौबिसै घण्टा खुला र पूर्णरूपमा निःशुल्क छ र साथसाथै समुदाय केन्द्रित कार्यक्रमहरूमा पनि विशेष ध्यान पुर्याइरहेको छ । अब दुर्गम स्वास्थ्य सुलभताको लहर सुदूरपश्चिमबाटै ल्याइन्छ ।’

वडा अध्यक्ष थापाले विदाको दिन समेत नभनी स्थानीय जनताको सेवामा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मीहरु प्रशंशाको पात्र भएको बताए ।

करिब १० वर्ष अगाडि खुलेको बयालपाटा अस्पतालले अछाम लगायत सुदूरपश्चिमका अरू पहाडी जिल्ला बाजुरा, बझाङ र डोटीका लागि उपचारको प्रमुख आश्रयस्थल रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *