‘सरले उ त्यै हो मेरो स्कुल भन्दै हामीलाई देखाउनुभयो’

- नेपाली हेल्थ
डा. सञ्जय कार्की

– डा. सञ्जय कार्की

खासमा सर (डा उपेन्द्र देवकोटा)लाई जन्म गाँउ गोरखा लैजाने तयारी केही दिन अघि देखिकै हो । त्यसका लागि पछिल्लो तीन देखि हामी मेडिसिटीबाट म डा सञ्जय कार्की र प्यारामेडिक्स रमेश न्यौपाने खटिएका थियौँ । मेडिसिटीको हेलिकप्टर इमरजेन्सी मेडिकल सर्भिस(इएमएस) संग न्युरो अस्पतालले सहयोग खोजेको थियो । त्यसैले हामी तीन चार दिन देखि खटिएका थियौँ ।

 

मेरो टीमले हेलिबाट सरलाई गोरखा लैजान मिल्छ कि मिल्दैन भनेर अध्ययन गरेको थियो । सबै मापदण्ड हेर्दा अस्तिको दिन उहाँको स्वास्थ्य अवस्था ठिक थियो । त्यसैले हिजो नै गोरखा लैजाने तयारीमा थियौँ । तर हिजो विहान आएर हेर्दा स्वास्थ्य अवस्था अलि विग्रिएको पाइयो । त्यसपछि हामीले हिजोको लागि ‘होल्ड’ गर्यौँ । तर आज फेरी स्वास्थ्यमा सुधार देखिएपछि गोरखा लैजाने तयारी थालेका थियौँ ।

न्युरो अस्पतालका मेरा साथी डा. मायुस मुनकर्मीले उहाँलाई शुरु देखि नै हेरेका थिए । पछिल्लो समय सरले लेखेर ‘गोरखा’ भनेपछि उहाँमा गोरखा जाने तिब्र इच्छा छ भनेर परिवारले बुझेको थियो र त्यहि अनुसार योजना बनेको हो ।

……………………………………………………………………………………………………………….

आज हामीले  साढे १ बजे तिर नै गोरखाका लागि जाने भनेपनि तयारी गर्दा गर्दै दुई बजिसकेको थियो ।  हामी २ बजेर ७ मिनेटमा गोरखाका लागि उडेका थियौँ । उड्ने बेलामा बाँसबारीमा निकै पानी र हावा चलेको थियो । तर मनमैजु कटेपछि नै त्यो पानी रोकिएको थियो ।

हामीले दुईवटा हेलिकप्टर लिएर गएका थियौँ । एउटा नेपाली सेनाको र अर्को अल्टिच्युट एयरको ।

नेपाली सेनाको हेलिकप्टरमा सरसंगै म्याडम ( डा. मधु देवकोटा) म र डा. मायुस थियौँ । अर्कोमा मेरो सहकर्मी रमेश, सरका तीन छोरी र एक आफन्त थिए । ४ देखि ५ हजार फिटको उचाईमा उडेर करीब ३५ मिनेटमा उहाँको गाँउ नजिक पुगेका थियौँ ।

………………………………………………………………………………………………………………………..

 

उड्नु अघि सरलाई बाटोमा केही हुन्छ कि भनेर अस्पतालमै सबै तयारी पुरा गरेका थियौँ । हेलिकप्टरमा स्टेचरको व्यवस्था थियो । त्यसलाई ४५ डिग्रीको एंगलमा ढल्काएर सरलाई त्यहाँ राख्यौँ ।

उड्दै गर्दा हामीले बाटोमा निवुलाईजेसन गराउँदै लगयौँ । हेलिकप्टरमै कार्डियाक मनिटर जडान थियो । त्यो पनि हेर्दै गयौँ । अक्सिजजनको व्यवस्था गरेका थियौँ । त्यसबाहेक चाहिने सबै खाले औषधिहरु न्युरोबाट लगेका थियौँ ।

हामी चडेको हेलिकप्टर उहाँको घर भन्दा केही माथि ल्याण्ड गरेको थियो । त्यहाँबाट उहाँको घर पुग्न करीब ४५ मिनेट लागेको थियो । हामीले घर सम्म पुरयाउन जर्मनीबाट झिकाइएको अत्याधुनिक म्याट्रेस थियो । त्यसमा राखेर लगेका थियौँ ।

…………………………………………………………………………………………………………………….

 

उहाँको इच्छा आफ्नो जन्मे हुर्केको घर र स्थानीय पधेराको पानी खाने थियो । अहिलेको पालुङटार नगरपालिका आप पिपलस्थित पण्डित गाँउमा उहाँको घर रहेछ ।

हामीले त्यहि घरको आँगनमा पुरयायौँ । त्यहाँ करीब ५ – ६ सय स्थानीयबासीको उपस्थिति थियो । घरमा पुगेपछि उहाँकी एक जना छोरीले नजिकैको सिस्नेधाराबाट गिलाँसमा पानी लिएर आउनु भयो । उहाँलाई चम्चाले सो पानी खुवाइयो ।

घर पुग्नासाथ उहाँमा छुट्टै चमक थियो ।

……………………………………………………………………………………………………………………….

उहाँले पिँडीमा बस्दै गर्दा यहाँबाट गएको हाम्रो टोलीलाई आफू पढेको स्कुल ( लुइटेल स्कुल) देखाउँदै भन्नुभएको थियो , ‘उ तेही हो मेरो स्कुल मैले अक्षर चिनेको स्कुल !’

गाँउमा उहाँलाई भेटन बृद्धबृद्धा युवा बालबालिका सबैको घुईचो नै थियो । उहाँले बुढाबुढी र बालबालिकासंग हात दिनु भएको थियो । अन्तिम पटक आफूले अप्रेसन गरेकी एक जना नानी पनि त्यहाँ आएकी थिइन । सरलाई सबैले स्वास्थ्य लाभको कामना गरेका त थिए नै आफ्नो जीवनको यो मोडमा पुग्दासम्म आफ्नो माटो र गाँउ घर सम्झेर आएकोमा अझै बढी भावुक देखिन्थे ।

…………………………………………………………………………………………………….

 

करीब एक घण्टा बसाई पछि हामी काठमाडौँका लागि फर्कियौँ । तर फर्कनु अघि हेलिकप्टरलाई केही नजिक ल्यायौँ । खासमा उहाँले टेक्ने भनेको जमिन हामी जाँदा ल्याण्ड गरेको जमिन होइनछ । त्यसैले काठमाडौँ फर्कदा उहाँले भनेकै जमिनमा हेलिकप्टर ल्याएर त्यहाँबाट उड्यौँ ।
फर्कदाँ उहाँले ‘आई फिल भेरी ह्याप्पी, आई फिल अमेज्ड’ भन्नु भएको थियो । र हाम्रो कामको निकै राम्रो भएको भन्दै प्रसशा गर्नु भएको थियो । यो कामलाई निरन्तरता दिइ राख्न सुझाव दिनु भएको थियो ।

काठमाडौँ ल्याएपछि उहाँलाई पहिलेकै ठाँउ उहाँका लागि बनाइएको आइसोलेसन वार्डमा राख्यौँ ।

(नेपाल मेडिसिटी अस्पतालमा कार्यरत डा. कार्कीसंग रामप्रसाद न्यौपानेले गरेको कुराकानी )

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *