नगरपालिकाका प्रमुखले भने, ‘म पनि धुम्रपान छोड्छु तपाईंहरु पनि छोड्नुहोस्’

काठमाडौँ १४ चैत । “म पनि धुम्रपान छोड्छु तपाईंहरु पनि छोड्नुहोस्”, टोेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भने । प्रमुख अधिकारीले राम्रो कामको शुरुवात आफैँबाट गर्नुपर्ने भन्दै धुम्रपान छाड्ने प्रतिबद्धता गर्दै नगरवासीलाई पनि छाड्न आग्रह गरेका हुन् ।

मुटु, क्यान्सरजस्ता कडा रोगको जोखिमबाट बच्न सबैभन्दा पहिले धुम्रपान त्याग्नुपर्ने उनको भनाइ छ । नगरवासीलाई धुम्रपानका कारण हुने मुटु र क्यान्सरबारे जानकारी बुधबार आज टोखा नगरपालिका र क्यान्सर काउन्सिल नेपालको संयुक्त आयोजनामा टोखामा भएको जनचेतना कार्यक्रममा मुटु र क्यान्सर रोगबारे विशेषज्ञ चिकित्सकले जानकारी गराएका थिए

जनचेतना कार्यक्रममा टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी निर्देशक महेश ढकालले सुर्तिजन्य पर्दाथ छोड्ने व्यक्तिलाई बैैंकमा खाता खोल्दा अरुलाई दिँदैआएको भन्दा एक प्रतिशत थप व्याज दिने घोषणा गरे ।

मनमोहन कार्डियोभास्कुरा सेन्टरका उपप्रध्यापक तथा मुटुरोग सर्जन डा अनिल भट्टराईले नेपालका २० प्रतिशत जनतालाई कुनै न कुनै मुटुसम्बन्धी समस्या भएको बताए । उनले भने, “हामीकहाँ दिनप्रतिदिन मुटुका बिरामी बढिरहेका छन् तर सोहीअनुसार मुटुरोग उपचार गर्ने सेन्टर अभाव छ, हामीलाई कम्तिमा पनि ३५ वटा मुटुरोग उपचार गर्ने सेन्टर आवश्यक छ तर २ वटा मात्रले मात्र काम चलाउनुपरेको स्थिति छ, विशेषज्ञ चिकित्सकको पनि अभाव छ ।”

डा भट्टाराईले मुटुका ९५ प्रतिशत रोगको उपचार नेपालमै सम्भव भएकाले विदेश गई उपचार गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए ।
वीर अस्पतालका क्यान्सर रोग विशषज्ञ प्रा डा विष्णुदत्त पौडेलले धेरै क्यान्सर रोगी अन्तिम अवस्थामा मात्र अस्पताल आइपुग्ने बताए ।

क्यान्सरबारे पर्याप्त जानकारी नहुदाँ उपचारबाट निको हुने रोग पनि मृत्युमा फेरिने बताए । उनले सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सरको प्रमुख भएकोले उपचारमा सहुलियतसँगै प्रभावकारी जनचेतनामा पनि जोड दिनुपर्ने बताए ।

नेपालमा धेरै फोक्सो, स्तन, पाठेघरको मुखको क्यान्सर, छातीको, जिब्रोको क्यान्सरका बढी बिरामी भएको डा पौडेलको भनाइ छ । सरकारीस्तरमै सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न उत्पादनमै कमी, जथाभाबी बिक्रीवितरणमै नियन्त्रण गर्न उनले आग्रह गरे । त्यसबाहेक पछिल्लो अध्ययनले मोटोपन, खानपान, प्रदूषण, व्यायाम, नियमति जाँच, मद्यपान नियन्त्रण गर्न सकेमा क्यान्सरबाट बच्न सकिने चिकित्सकको भनाइ छ ।

सुर्तीजन्य पदार्थविरुद्ध अभियान सञ्चालन गर्दै आएको क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले ८० प्रतिशत क्यान्सरको कारण सुर्तीजन्य पर्दाथको प्रयोग भएको बताए । उनले भने, “नेपालमा प्रत्येक दिन ४२ जनाको मत्यु क्यान्सरले हुन्छ भने २५ हजार नयाँ क्यान्सर रोगी बर्षेनी थपिन्छन्, त्यसैले सुर्तीजन्य पर्दाथको प्रयोगलाई निरुत्साहित गर्नु आवश्यक छ ।”
उनले सूर्तिजन्य पदार्थ विरुद्धको ऐन, २०६८ प्रभावकारी कार्यान्वनमा सरकारी संयन्त्रले तदारुकता देखाउनुपर्नेमा जोड दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *