मुटुरोग र यसको वर्तमान अवस्था

– डा. युवराज लिम्बू

प्रत्येक वर्ष सेप्टेम्बर २९ तारिख विश्व मुटुदिवश मनाइन्छ र यसको सुरुवात सन् २००० मा World Heart Federation (WHF) को अग्रसरतामा भएको हो l

म मेरो मुटुलाई माया गर्छु, यसलाई धड्कन देउ (I love my heart, let it beat) भन्ने नारा सहित सुरु भएको विश्व मुटुदिवश यस वर्ष सेप्टेम्बर २९ तारिख शुक्रबार सम्पूर्ण जीवनलाई उर्जा र शक्ति प्रदान गर्ने मुटुलाई माया गर्दै मुटुलाई स्वास्थ्य र उर्जाशील राख्न सबै सहभागी बनौ (Share the power) भन्ने नारा सहित संसार भरि विश्व मुटुदिवश मनाइदैछ l

आज विश्वमा मानव मृत्युको पहिलो कारण पनि मुटु तथा रक्तनली सम्बन्धि रोग हो l प्रत्येक वर्ष एक करोड पचहत्तर लाख भन्दा बढी मानिसको मृत्यु मुटुरोगको कारण हुने गर्दछ l संसारमा मानव मृत्युको सम्पूर्ण कारणहरु मध्ये ३१% मृत्युको कारण मुटु तथा रक्तनली सम्बन्धि बिमार हो l

मुटुरोगको कारक तत्व मानिने उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्टेरोल मात्राको सफल उपचार साथै स्वास्थ्य जीवन शैलीका कारण बिकशित मुलुकहरुमा मुटुरोगको प्रतिशतमा केहि कमि आए पनि जनसंख्याको वृद्धि साथै मानव सरदर आयुमा वृद्धि भएको कारण ज्येषठ नागरिकको संख्यामा वृद्धि भएकोले मुटुरोगको संख्या विश्वभर वृद्धि भइरहेको छ l

विश्वमा विकासशील राष्ट्रहरुले जनसंख्याको ठुलो हिस्सा ओगटेकोले करिव ८० प्रतिशत मुटुरोगबाट हुने मृत्यु विकासशील मुलुकहरुमा हुने गर्दछ l

नेपालजस्तो निम्न आय भएको बिकशोन्मुख राष्ट्रमा एकातिर स्वास्थ्य जीवन शैली सम्बन्धि चेतनाको अभावका कारण र जनसंख्याको वृद्धि सँगै जेष्ठ नागरिकको संख्यामा वृद्धि भएको कारण मुटु र रक्तनली सम्बन्धि बिमार; उच्च रक्तचाप, कोरोनरी मुटुरोग र हृदयघातको जोखिम र संख्या वृद्धि भईरहेको छ l

साथसाथै जीवनस्तरमा सुधारका कारण बिकशित मुलुकहरुमा प्राय अति न्युन भइसकेको बाथ ज्वरो र बाथ मुटुरोगको बिमार निम्न जीवनस्तर, स्वास्थ्यको राम्रो प्रबन्ध नहुनु र उचित चेतनाको अभावका कारण नेपालमा बाथ मुटुरोगको जोखिम र संख्यामा सुधार हुन सकेको छैन l

नेपालको पूर्वी क्षेत्रमा गरिएको एक अध्ययन(JAMA-Cardiol, 2016,March) अनुसार ५ देखि १५ वर्ष उमेर समुहका बच्चाहरुमा प्रत्येक १००० जना मध्ये १० जनामा बाथ मुटुरोग देखिएको छ l बाथ मुटुरोग प्राय गरेर बाल्य अवस्थामा बाथ ज्वरो र घाँटीको संक्रमण बाट सुरु हुन्छ र बिस्तारै बिमार बड्दै गरिखाने बयश्क उमेरमा लक्ष्यणहरु देखा पर्ने गर्दछ l अत: बाथ मुटुरोगको कारण एकातिर बयश्क उमेरमा गर्नु पर्ने श्रम र उत्पादनमा ह्राश आउँछ भने अर्को तिर परिवारमा मानशिक चिन्ता र आर्थिकभार बढ्न सक्छ साथै यसले सिंगो राष्ट्रको उत्पादनशिलतामा पनि असर गर्न पुग्दछ l

विश्वमा सम्पूर्ण मुटुरोगहरु मध्ये कोरोनरी मुटुरोग र रक्तनलीको रोग(पक्षाघत)को कारण करिव ७६% मानव मृत्यु हुने गर्दछ (WHO,2004) भने बाथ मुटुरोगको कारण २% मृत्यु हुने गर्दछ l

नेपाल लगायत दक्षिण एशिया जस्तो अल्प बिकशित क्षेत्रमा भने कोरोनरी मुटुरोग र रक्तनलीको रोग (पक्षाघात) को कारण ८०% मानव मृत्यु हुने गर्दछ भने बाथ मुटुरोगको कारण ६% मृत्यु हुने गर्दछ l  सम्पूर्ण मुटुरोगहरु मध्ये कोरोनरी मुटुरोग मानव मृत्युको पहिलो कारण हो l संसार भरि सम्पूर्ण मुटुरोगबाट हुने मृत्यु मध्ये करिव ४३% मृत्यु कोरोनरी मुटुरोगबाट हुने गर्दछ भने दक्षिण एशियामा करिब ५२% मृत्यु कोरोनरी मुटुरोगबाट हुने गर्दछ l WHO,2014 अनुसार नेपालमा सम्पूर्ण मानव मृत्यु मध्ये करिव १०.८% मृत्यु कोरोनरी मुटुरोगबाट हुने गर्दछ l

नेपाल जस्तो निम्न आय भएको बिकाशउन्मुख राष्ट्रमा विश्वब्यापी रुपमा मानव मृत्युको पहिलो कारण मुटुरोगको संख्यामा वृद्धि भइरहेकोछ साथै बाथ मुटुरोगको रोकथाममा सुधार नभएको कारण परिश्रम गर्नु पर्ने उमेर समुहका बयश्क पुरुष, महिला साथै प्रजनन उमेर समुहका महिलाहरुमा बाथ मुटुरोगको असरका कारण परिवारमा, समाजमा र समग्र राष्ट्रमा यसले मानसिक र आर्थिक रुपमा असर परि रहेको छ l

बेलैमा सतर्कता अपनाउने हो भने अधिकांश मुटुरोगहरुबाट बँच्न सकिन्छ l मुटु तथा रक्तनली सम्बन्धि रोगबाट बँच्नजनचेतना जगाउने उद्देश्यले प्रत्येक वर्ष सेप्टेम्बर २९ तारिख विश्व मुटुदिवश मानिन्छ l मुटुदिवशको अवसरमा उचित जनचेतना जगाउने उद्देश्यले विभिन्न संचार माध्यमहरुको उपयोग गर्न सकिन्छ र राष्ट्रले नै यसको निरन्तरता दिनु पर्दछ l  प्रत्येक सचेत व्यक्तिले मुटुरोगबाट बँच्न आफ्नो तर्फ बाट सचेत रहन झनै जरुरि छ l

आज मुटुदिवशको सन्दर्भमा मुटुलाई स्वास्थ्य र उर्जाशील राख्न मुटुलाई माया गरौं, मुटुलाई जोगाउँ, मुटुलाई स्वास्थ्य राखौँ र आजैबाट धुम्रपान त्यागौं, अधिक मध्यपान नगरौं, नियमित ब्यायाम सुरु गरौँ, बढी सागसब्जी र फलफुल भएको स्वास्थ्य खाना रोजौं र आफ्नो वजन बारे सचेत होऊँ l उच्च रक्तचाप भए उपचार गरौँ, मधुमेह छ भने उचित उपचार गरौं, आफ्नो कोलेस्टेरोलको मात्रा बारे सचेत होउं र उच्च भए उपचार गरौँ र तनावको उचित व्यवस्थापन गरौँ l

बच्चाहरुको स्वास्थ्यमा उचित ध्यान दिउँ र बाथ ज्वरो र बाथ मुटुरोग हुनबाट जोगाउँ l यी सरल र कम खर्चिलो बिधिहरुको अवलम्बनले संसारमा स्वास्थ्य मुटुहरु धड्कने छन् र अरबौं जीवनहरुले उर्जा प्राप्त गर्नेछन् l

# डा. लिम्बू शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौँमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *