यी हुन् राष्ट्रपतिले संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका विषयहरु

काठमाडौँ, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७४/ ०७५का लागि सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदमा प्रस्तुत गरेकी छन् ।

यसपटकको नीति तथा कार्यक्रम स्थानीय चुनावको बीच समयमा परेकोले पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । यद्धपी राष्ट्रपतिको संवोधनमा स्वास्थ्यका चार बुँदा समेटिएको छ ।

ती बुँदाहरु यसप्रकारछन् ।

  • स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गर्दै आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने व्यवस्था गरिनेछ ।
  • स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमलाई निरन्तरता गरी सो को प्रभावकारी कार्यान्वयन गरिनेछ ।
  • गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरिनेछ ।
  • आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरी सेवा प्रभावलाई प्रभावकारी बनाइनेछ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यक्रम भने यस्तो छ :

नेपाल सरकार

स्वास्थ्य मन्त्रालय

आ.व. २०७४/७५ को नीति तथा कार्यक्रम

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा अङ्गिकार गर्दै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने एवं प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको व्यवस्था गरेको छ ।

नेपाललाई सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रको सूचीबाट मध्यम आयस्तर भएका विकासशील मुलुकको सूचीमा पुर्‍याउने सरकारको सोचलाई साकार गर्न स्वास्थ्य क्षेत्रको सेवालाई पनि मुख्य आधारशीलाको रूपमा लिइएको छ ।

यसैगरी दिगो विकास लक्ष्य अनुरुप सवै उमेर समूहको स्वस्थ जीवन र स्वास्थ्य प्रवर्द्धनको सुनिश्चितताको लागि बहुपक्षिय सहकार्यलाई प्रोत्साहन गर्दै सरकार र साझेदारहरू संयुक्त रूपमा उत्तरदायी भइ कार्य गर्दै आएकालाई गति दिनु छ । यस पृष्ठभूमिमा स्वास्थ्य नीति र क्षेत्रगत रणनीतिलाई मध्यनजर गरी विगत वर्षदेखि सञ्चालनमा रहेका प्राथमिकता प्राप्त कार्यक्रमहरुलाई निरन्तरता दिदै आ.व. २०७४।७५ का लागि देहायका नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

अ)  मुख्य नीतिहरू

संवैधानिक उत्तरदायित्व पुरा गर्न गुणस्तरीय स्वास्थ्य सेवामा क्रमशः सबैको पहुँच पुग्ने गरी सेवाको प्रवाह गरिनेछ ।यस कार्यलाई सहज बनाउनका लागि जनस्वास्थ्य ऐन तर्जुमा गरिनेछ । संघीयता कार्यान्वयनको सिलसिलामा स्वास्थ्य क्षेत्रको पुनर्संरचनालाई विशेष जोड दिइनेछ । यसका निम्ति एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजनामार्फत संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाको संरचना तथा जनशक्तिलाई क्रमश: पूर्णता दिइनेछ ।

स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच विस्तार गर्न सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम देशभरि विस्तार गरिनेछ । साथै नसर्ने रोगको प्रकोप नियन्त्रणमा जोड दिइनेछ । विपन्न नागरिकहरुलाई जस्ता कडा रोगमा निशुल्क उपचारको प्रत्याभूति गरिनेछ ।

मेरो वर्ष: २०७४ म स्वस्थ्य, मेरो देश स्वस्थ अभियान सञ्चालित गरिनेछ । यस अन्तरगत सबैलाई म मेरो स्वास्थ्यप्रति जिम्मेवार रहन्छु भन्ने भावना विकास गरिनेछ ।

७४४ वटै स्थानिय तहमा १५ शैया क्षमताको अस्पतालको ब्यवस्थापन गरिनेछ । निशुल्क औषधि कार्यक्रमलार्इ प्रभावकारी बनाउन औषधि खरिद प्रक्रियालार्इ सहज बनाइनेछ । स्वास्थ्य सेवा प्रवाहलार्इ गुणस्तरीय बनार्इ पहुँच अभिवृद्धि गर्न सरकारी अस्पतालहरूसंग कार्य सम्पादन करार गरिनेछ । सरकारी स्वास्थ्य संस्थाहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बहिरंग सेवा उपलब्ध हुने ब्यवस्था गरिनेछ ।

आ.) मुख्य नीति अन्तरगतका कार्यक्रमहरू

१.       देशको संघीय संरचना अनुरूप अस्पतालहरूको सुदृढीकरण गरि विशेषज्ञ सेवा विस्तार गरिनेछ । विदेशमा गर्इ उपचार गराउने प्रवृत्तिलार्इ निरूत्साहित गर्न वीर अस्पताललाइ सर्वोत्कृष्ट प्रेषण केन्द्रको रूपमा विकास गर्ने गरी संरचना निर्माण गरिनेछ ।

प्रत्येक प्रदेशमा कम्तिमा एउटा अस्पताललार्इ संघीय संरचना अनुरूप अस्पतालहरूको भौतिक संरचना स्रोत साधन सम्पन्न बनाइ विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गरिनेछ ।

२.       सघन आकस्मिक प्रसुती सेवा एवं नवजात शिशु सेवा (CEONC) लार्इ निरन्तरता दिइनेछ । नवजात शिशुको विशेष उपचार क्रमशः विस्तार र निशुल्कको व्यवस्था मिलाइनेछ । आमा र वच्चाको स्वास्थ्यको लागि एकिकृत स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

३.       नागरिकको स्वास्थ्योपचार सेवा बढी भरपर्दो, सुलभ र गुणस्तरीयुक्त उपचारमा सहयोग पुर्याउन राष्ट्रिय सामाजिक स्वास्थ्य बीमालार्इ विस्तार गरिनेछ ।

४.       सरकारी शिक्षण संस्थाहरूमा एम.डी.एम.एस. को निःशुल्क शिक्षालार्इ निरन्तरता दिदै मेडिकल कलेजसंगको समन्वयमा दुर्गम एवं पहुँच नभएको स्थानमा समेत स्वास्थ्य सेवाको बिस्तार गरिनेछ ।

५.       सिंहदरवार बैद्यखानामा असल उत्पादन प्रकृया (GMP) लार्इ निरन्तरता दिइनेछ ।  आयुर्वेद र अन्य पूरक चिकित्सा सेवालाइ सुदृढीकरण गरि आधुनिक चिकित्सा सेवा संग एकद्वार प्रणालीवाट दिने व्यवस्था परिक्षणको रूपमा शुरू गरिनेछ ।

६.       पूर्व पश्चिम राजमार्ग र उत्तर दक्षिण सहायक राजमार्गहरूका विभिन्न ठाउँमा आवश्कता अनुसार ट्रमा सेन्टर स्थापना गर्ने साथै पुर्वको धरान र पस्चिमको नेपालगंजमा क्यान्सर अस्पताल संचालन तथा विस्तार गर्ने ।

७.       भूकम्पवाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुननिर्माण एवं स्वास्थ्य सेवाको निरन्तरताको लागि पूर्वाधार विकास, औजार उपकरणहरूको व्यवस्था सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।

८.       सर्ने तथा नसर्ने रोगको रोकथाम, उपचार एवं नियन्त्रणका लागि प्रभावकारी कृयाकलापहरू संचालन गरिनेछ । सिकलसेल लगायत विभिन्न लक्षित रोगहरूको रोकथाम, निदान र उपचारमा प्रभावकारिता ल्याइनेछ । बढदो मानसिक समस्या न्यूनीकरण गर्न प्रर्वद्धनात्मक कार्यक्रम र मानसिक रोग उपचारको लागि गैर सरकारी संघसंस्थाहरूको साझेदारीमा स्याहार केन्द्रहरू संचालन गरिनेछ गरिनेछ

९.       अस्पतालहरुको भौतिक अवस्था एवं श्रोत साधनमा सुधार गरी उपचारात्मक सेवाको विस्तार,  गुणस्तरमा सुधार गरिनेछ । अस्पतालमा आफ्नै फार्मेसी संचालनमा ल्याइनेछ ।

१०.    औषधीको गुणस्तर कायम गर्ने र औषधीको मूल्य नियन्त्रण गर्ने कार्यलाई प्रभाकारी पारिनेछ ।

११.    प्राकृतिक प्रकोप न्यूनीकरण, पूर्वतयारी एवं प्रकोप व्यवस्थापनको लागि प्रभावकारी संयन्त्रको विकास गर्दै विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ । मौसम परिवर्तन, रेडियोधर्मी विकिरण जस्ता विषयहरूमा स्वास्थ्य प्रभाव वारे अध्ययन, अनुसन्धान र कार्यक्रमहरूको विकास गरिनेछ ।

१२.    पुराना र नयाँ सवै प्रकारका सरूवा रोगहरूको रोकथाम, नियन्त्रण, निवारण एवं उन्मुलनमा विशेष जोड दिइनेछ । रोग निदानका लागि रेडियोलोजी र प्याथोलोजी प्रयोगशाला सेवाको विकास र विस्तार गरिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *