पेल्भिक फ्लोर फिजियो थेरापी के हो ? अन्य फिजियो भन्दा के फरक छ ?

फिजियो थेरापीलाई अर्को शब्दमा भौतिक चिकित्सा पनि भन्ने गरिएको छ । कुनै पनि औषधिको प्रयोग विना, शारीरिक व्यायम, मेसिनको प्रयोग र विभिन्न म्यानुअल थेरापी पद्धतीबाट हाड, मांसपेशी र नशा सम्वन्धि समस्याहरुको उपचार गर्ने विधि हो ।

फिजियोथेरापिष्ट भनेर कसलाई बुझिन्छ ?
फिजियो थेरापीलाई भौतिक चिकित्सा भने जस्तै फिजियो थेरापिष्टलाई भौतिक चिकित्सक भन्न सकिन्छ । फिजियो थेरापीमै पनि विभिन्न विधाहरु छन् । यस्तै ती विधा समाउने चिकित्सकहरु विभिन्न विधाका हुने गर्दछन् र उनीहरुलाई विधा अनुसार नाम दिईने गरिन्छ ।

जस्तो कि,  हाड र खेलकुद सम्वन्धि चिकित्सकहरुलाई मस्कुलोजकेलेटल फिजियोथेरापिष्ट भनिन्छ । यस्तै नशा सम्वन्धि उपचार गर्नेलाई न्युरो फिजियोथेरापिष्ट भनिन्छ । बालबालिका सम्वन्धिलाई प्याडियाट्रिक फिजियोथेरापिष्ट भनिन्छ ।

यी बाहेक पनि अरु थुप्रै विधाका फिजियोहरु छन् । तर अहिले हामीले यहाँ अर्को एक मुख्य फिजियोको बारेमा चर्चा गर्न खोज्दैछौँ । त्यो भनेको अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजी (OBN & Gyn)सम्वन्धि, जसलाई हामी पेल्भिक हेल्थ फिजियो थेरापिष्ट भनेर समेत बुझ्ने गर्दछौँ ।

ओबीजी (OBG) फिजियोथेरापी भन्नाले के बुझिन्छ ?
ओबीजी (OBG) भन्नाले प्रसूति तथा स्त्री रोग सम्वन्धि समस्याको व्यायम र अरु फिजियो पद्धतिद्धारा गरिने एक प्रकारको उपचार पद्धति बुझिन्छ । खासगरी एक गर्भवती महिला, व्यथा लागेका महिला र सुत्केरी अवस्थामा रहेका महिलाहरुमा विभिन्न शारीरिक तथा मानसिक परिवर्तन आउनु केही नौलो कुरा होईन् ।

यी परिवर्तनहरुलाई सहज पार्नका लागि ओबीजी फिजियोथेरापीको आवश्यकता पर्दछ ।

साथै, महिलाहरुमा उमेर अनुसार देखिने परिवर्तनहरु, जस्तो कि किशोरी अवस्थामा हुने महिनावारीको समस्या, गर्भ अवस्थामा गर्भ खेर जाने समस्या, अर्धवैसे उमेरमा पाठेघर झर्ने, पिसाव चुहिने, शारीरिक सम्पर्कमा कष्ट हुने, घुडा दुख्ने, ढाड दुख्ने समस्यालाई समाधान गर्न पनि ओबीजी फिजियोथेरापी प्रभावकारी बन्न सक्छ ।

पेल्भिक फ्लोर फिजियोथेरापी भनेको के हो ?

मानव शरीरमा माथिल्लो र तल्लो भाग जोड्ने कम्मरको हड्डीलाई पेल्भिक (श्रेणी) भनिन्छ । यो श्रेणीको पिधमा भएको मासुहरुको समूहलाई पेल्भिक फ्लोर भनिन्छ । यो पेल्भिक फ्लोरले हाम्रो दिशा, पिसाव साथ साथै शारीरिक सम्पर्कको कार्यमा ठूलो योगदान पुर्‍याएको हुन्छ ।

यो मासुहरुमा कुनै पनि समस्या आएमा पिसाव चुहिने, दिशा कसिने, शारीरिक सम्पर्कका बेला दुखाई हुने, शारीरिक सम्पर्क सक्रिय हुन मन नलाग्ने वा उत्साहमा कमी हुने खालका समस्या आउँछ । यस्तो समस्या समाधान गर्नका लागि पेल्भिक फ्लोर फिजियो थेरापी नै सबैभन्दा प्रभावकारी र पहिलो उपचार पद्धती मानिन्छ ।

पुरुषहरुलाई पेल्भिक फ्लोर फिजियो थेरापीको आवश्यकता किन ?

पुरुषहरुमा पनि श्रेणी (पेल्भिस बोन) पिध यानेकी पेल्भिक फ्लोर मसल रहेको हुन्छ । यसले महिलाको जस्तै पुरुषमा पनि पिसाव, दिशा र शारीरिक सम्वन्धलाई सहज गराउन मद्धत गर्दछ । तर यसमा समस्या आउँदा उपचारका लागि पेल्भिक फ्लोर फिजियो थेरापी नै सबैभन्दा प्रभावकारी हुन्छ । खासगरी किशोरावस्थामा पुरुषहरुले गर्ने हस्तमैथुनको दुखाई, शिघ्र स्खलन, साथै प्रोस्टेट सर्जरी पछि पिसाव चुहिने जस्तो समस्या निवारण गर्न पेल्भिक फ्लोर फिजियो थेरापीको आवश्यकता हुन्छ ।

कसरी गर्ने पेल्भिक फिजियो थेरापी ? विधि कस्तो हुन्छ ?

सामान्य फिजियोथेरापीमा शारीरिक व्यायम, मेसिनद्धारा उपचार र म्यानुअल थेरापीहरु पर्दछन् । तर पेल्भिक फिजियोथेरापीमा यी फिजियो संगै विशेषज्ञहरुले ट्रान्सभजाइनल तथा ट्रान्सरेक्टल पुनस्थापना गरिन्छ ।

अति आवश्यक तर प्राथमिकतामा परेन किन ?

फिजियो थेरापी स्वास्थ्य उपचारका लागि निकै नै महत्वपूर्ण एक विधि हो । विकसित देशहरुमा गरिने उपचारहरु यस विधिलाई पहिलो प्राथमिकतामा राखिन्छ । हामीकहाँ त झन् यस विधिबाट गर्नु पर्ने उपचारहरु धेरै नै छन् । तर, जनचेतना र उपलव्धताको कमीले गर्दा यस तर्फ मानिसहरु लाग्न सकिरहेका छैनन् ।

विना थेरापी उपचार नगरी दुखाई सहेरै बसिरहेका छन् । कतिपय अवस्थामा फिजियो थेरापीले हुन्छ भन्ने थाहा पाए पनि कहाँ जाने र कसरी उपचार हुन्छ भन्ने विस्तृत जानकारी नभएर अन्योलमा पर्ने गरेका छन् । कतिपय महिला पुरुषले भने लाज र डरले गर्दा पनि यस्तो समस्या खुलेर भन्न सकिरहेका हुँदैनन् ।

नेपालमा पेल्भिक फ्लोर फिजियो थेरापिष्ट कति छन् ?
नेपालमा फिजियोथेरापी गराउने अस्पताल तथा क्लिनिकहरु खुल्ने क्रम बढ्दो छ । त्यहाँ विभिन्न विधिका फिजियो थेरापीहरु गराइएको पनि हुन्छ । तर पेल्भिक फ्लोर फिजियो थेरापि गराउने विज्ञहरु नै भने निकै नै कम छ । हामी दुई जनाले हालसालै भारतको बेगम भन्ने स्थानमा पुगेर यस विषयमा विशिष्ट श्रेणीको डिग्री हासिल गरि फर्केका हौँ । हामीले अहिले काठमाडौँका केही स्थानबाट सेवा दिन थालेका छौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “पेल्भिक फ्लोर फिजियो थेरापी के हो ? अन्य फिजियो भन्दा के फरक छ ?

  1. नेपालमा फिजियो थेरापी उपचार दिन भर्खरै मात्र सुरुवात भएता पनि यो एक प्रचिन उपचार बिधि नै हो।पश्चिमा देशहरूमा यो उपचार लाईसरकारि स्तरबाटै प्राथमिकतासाथ प्रवर्द्धनका कदम हरु चालिएको देखिन्छ ।काम गर्ने कर्मचारीको स्वास्थ्य लाई मध्यनजर गरि अकुपेसनल थेरापिस्ट को वयवस्था गरिएको पाईन्छ ।हजुरहरु द्वयको माध्यमबाट नेपालको स्वस्थ्य क्षेत्रमा जुन नव उपचार बिधि को स्थापना हुदैछ यो व्यापक रुपमा बिस्तार हुँदै जाओस ,धेरै भन्दा धेरै ले स्वास्थ्य लाभ प्राप्त गरून् धेरै धेरै शुभकामना 🤗

  2. द्वयको माध्यमबाट नेपालको स्वस्थ्य क्षेत्रमा जुन नव उपचार बिधि को स्थापना हुदैछ यो व्यापक रुपमा बिस्तार हुँदै जाओस ,धेरै भन्दा धेरै ले स्वास्थ्य लाभ प्राप्त गरून् धेरै धेरै शुभकामना 🤗

Leave a Reply

Your email address will not be published. Required fields are marked *