‘दादागिरी शैली’मा बोर्डलाई चिठी पठाउँदै मिसन अस्पतालले भन्यो, ‘स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय यथावत’

काठमाडौँ, १९ साउन । बिहीबारको छलफलमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न राजी भएको पाल्पाको युनाइटेड मिसन अस्पतालले शुक्रबार बोर्डलाई कडा चिठी पठाउँदै सेवा स्थगित गर्ने निर्णय यथावत रहेको जानकारी गराएको छ ।
आफूले अघि सारेको तीनवटा विषय शुक्रबारसम्म पनि पुरा नभएको भन्दै अस्पतालले २१ साउन देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय यथावत रहेको जानकारी गराएको छ ।
अस्पताल निर्देशक डा. रचेल कारखले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई लेखेको पत्रमा तत्काल पुरा हुन नसक्ने र गर्न नमिल्ने सर्तहरु अघि सारेकी छन् । पत्रमा विषय र सार हेर्दा मिसन अस्पताल ‘दादागिरी शैली’ अपनाएको स्पष्ट हुन्छ ।
किन दादागिरी शैली ?
मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न अघि सारेको तीनवटा सर्त तत्काल पुरा हुने देखिदैन । उसले स्वास्थ्य बीमा कार्यक्रमको सेवाहरुको दर रेट समय सापेक्ष परिमार्जन हुनु पर्ने वा स्वास्थ्य बीमाबाट सोधभर्ना नहुने बराबरको रकम विरामी पक्षबाट सह भुक्तानी लिन पाउनुपर्ने बताएको छ ।
दररेटका विषयमा बोर्डले छलफल अघि बढाए पनि तत्कालै निस्कर्षमा पुग्ने अवस्था छैन् । यसअघि मिसनले बीमाबाट नपुग्ने रकम बिरामीबाट सह भुक्तानी लिन पाउने जो कुरा गरेको छ त्यो झनै गैरकानूनी हो । त्यसो त मिसन अस्पतालले यसअघि त्यसैगरी दोहोरो भुक्तानी लिने र मापदण्ड बाहिरबाट भुक्तानी क्लेम गर्ने गरेको थियो ।
बोर्डले त्यसबारेमा जानकारी पाएपछि उसलाई सचेत गराएर त्यो रोकिएको थियो । अहिले त्यसबेलाकै क्लेम गडबड भएपछि भुक्तानीमा ढिलाई भएको बोर्डले बताउने गरेको छ ।
यस्तै दोस्रो नम्बर बुँदामा अस्पतालले बीमा बोर्डमा गरेका आजसम्मका दावीहरु विनासर्त तुरुन्तै भुक्तानी हुनु पर्ने भन्ने छ । बीमा बोर्डका अधिकारीहरुले सिस्टम विपरित गएर भुक्तानी गर्न नमिल्ने र दावी गरिएको क्लेमको अध्ययन गरेर मात्रै भुक्तानी गर्ने भएकोले अस्पतालले भने बमोजिम हुन नसक्ने बताए ।
यस्तै अर्को बुँदामा अस्पतालले गरेका दावीहरुको स्वीकृत र भुक्तानी समयमा नै (सबमिट गरेको १५ दिन भित्र) हुनुपर्ने बताएको छ ।
समस्या पारेर फाईदा लिन खोज्ने प्रयासमा ?
अस्पताल साच्चिकै समस्यामा परेको भन्दै संघ तथा प्रदेशका सांसद तथा प्रमुख जिल्ला अधिकारीसहितको टिमले सेवा सञ्चालन गर्ने बातावरण बनाउन स्वास्थ्य मन्त्री मोहन बस्नेत, बीमा बोर्डका निर्देशक बसौला लगायतसंग पटक पटक भेटेर छलफल गरेको थियो ।
पाल्पाका सरकारी अस्पतालमा पर्याप्त सेवा नभएको तथा ठूलो अस्पताल लुम्बिनी मेडिकल कलेजमा बीमा कार्यक्रम नभएको अवस्थामा मिसन अस्पताल बीमा कार्यक्रमका लागि महत्वपूर्ण अस्पताल थियो ।
यसले पनि सेवा रोक्ने बताएपछि सांसदद्धय ठाकुर गैरे र नारायण आचार्यले माथिल्ला निकायसंग समन्वय गर्ने काममा लागि रहेका थिए । बुधबार मात्रै पनि अस्पतालका निर्देशक डा कारख, बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई संगै राखेर बीमा सेवा निरन्तरता दिने भन्ने विषयमा छलफल गरेका थिए ।
‘उहाँ कन्भिन्स हुनु भएको थियो । अनौपचारिक रुपमा नभने पनि अनौपचारिक रुपमा सबै कुरा मिलिसकेको थियो । टिमसंग कुरा सेयर गरेर भोली विज्ञप्ती निकाल्छु भन्दै सामुहिक तस्बिर खिचेर छुट्टिएका थियौँ । तर आज विज्ञप्ती त आएछ बीमा कार्यक्रम स्थगित गर्ने कार्यलाई निरन्तरता भनेर । यो बहुँत दुखद विषय हो,’ सांसद ठाकुर गैरेले भने ।

स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न पर्दा दुखी छौँ : डा कारख
यसैबीच मिसन अस्पतालकी निर्देशक डा रचेल कारखले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्नु पर्दा आफू दुखी भएको दोहोरयाएकी छन् । उनले आफ्ना विषयहरुको सम्वोधन नभएकोले बाध्यभएर स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न परेको बताईन् । हिजो सहमति नजिक पुगेर किन फेरी पछि हटेको भन्ने प्रश्नमा उनले आफ्नो टिमसंगको छलफल पछि निर्णय लिएको बताईन् ।
‘बीमा कार्यक्रम स्थगित गर्न हाम्रो मन थिएन । हिजो माननीय ज्यूहरु, बीमा बोर्डका डाइरेक्टर र हामी बसेर यसलाई कसरी सञ्चालन गर्न सकिन्छ भनेर छलफल गरेका थियौँ । छलफल सकारात्मक नै थियो । पछि मैले मेरो टिमसंग छलफल गरेँ तर अहिलेको अवस्थामा हामीले बीमा कार्यक्रम सञ्चालन गर्ने हो भने साउन भरी पनि चल्न सक्ने अवस्था रहेनछ । त्यसैले बाध्य भएर यो कदम चालेका हौँ ‘ उनले भनिन् ।
उनले आफूले अघि सारेका सर्तहरु सरकारले पुरा गरे आफूहरु पुन सेवा दिन तयार रहेको बताईन् ।
पाल्पाको कुनै बेला मिसन अस्पताल पश्चिम नेपालकै उदाहरणीय अस्पताल थियो । यसको सेवा लिन छिमेकी मुलुक भारतबाट समेत बिरामी आउथे । तर पछिल्लो समय यसका गतिविधिले पुरानो छविलाई समेत असर परेको स्थानीय अगुवाहरु बताउँछन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

