निजामती अस्पतालले झण्डै ११ करोडका मेसिन तथा उपकरणहरु प्रयोगमा नल्याई स्टोरमै थन्क्यायो


काठमाडौँ, ८ माघ । एउटा ठूलो सरकारी अस्पतालले बिरामीको उपचारका लागि सहज बनाउन भन्दै वर्षेनी ठूलो रकम खर्च गरी मेसिन तथा उपकरणको खरीद गर्ने गरेको छ । तर खरीद गरेपछि भने प्रयोगमा ल्याउनुको सट्टा स्टोरमै थन्क्याउने गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले विभिन्न मितिमा खरीद गरेका महंगा मेसिन प्रयोगमा नल्याई थन्क्याएको विषय उजागर गरेको छ ।

प्रतिवेदनका अनुसार २०७६ देखि २०७९ को असारसम्म १० करोड ६८ लाख ३१ हजार रुपैयाँका विभिन्न मेसिन तथा उपकरणहरु खरीद भयो । तर त्यसलाई सञ्चालन तथा प्रयोगमा ल्याउनुको सट्टा गोदाममा थन्क्याएर राखियो ।

प्रतिवेदनले मेसिन उपकरण खरीद गरी उपयोगमा नल्याउनु उचित होइन भन्दै आवश्यकताको पहिचान गरेर मेसिन उपकरणहरु खरीद गर्ने र सो को उचित उपयोग गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउन समेत सुझाव दिएको छ ।

यी हुन् खरीद गरेर सञ्चालनमा नल्याइएका मेसिन तथा उपकरणहरु
प्रतिवेदनमा १७ बैशाख २०७६ देखि १९ असार २०७९ सम्म खरीद गरेर प्रयोगमा नल्याइएका मेसिनहरुको विवरण दिईएको छ ।
यस्तो छ गोदाममा थन्किएका मेसिन तथा उपकरणको विवरण :

  • अस्पतालले १७ बैशाख २०७६ मा ३३ लाख रुपैयाँमा खरीद गरेको नेभिगेसन सिस्टम फर टटल नि रिप्लेसमेन्ट सर्जरी मेसिन ।
  • ३ असार २०७७ मा १९ लाख १० हजार रुपैयाँ खर्च गरेर हेमोडाइलासिस मेसिन वीथ रो प्लान्ट खरीद गरेको थियो ।
  • २० भदौ २०७८ मा १ करोड ८३ लाख ६ हजारमा खरीद गरेको तीन भेन्टिलेटर पेड ।
  • २७ माघ २०७८ मा ६ करोड ४२ लाख ९७ हजार रुपैयाँमा स्पाइरल इन्डोस्कोपी सिस्टम मेसिन।
  • १३ बैशाख २०७९ मा १ करोड ९९ लाख ४५ हजार रुपैयाँमा खरीद गरेको रिलेटिभ डोजीमेट्री एण्ड एचडी भिडियो ब्रोङस्कोप सिस्टम ।
  • १९ असार २०७९ मा ९ लाख ८३ हजार रुपैयाँमा खरीद गरेको इन्फ्युजन पम्प लगायतका ६ वटा मेसिन उपकरण प्रयोग विहीन अवस्थामा रहेको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *