त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणमा दशौँ सफलता
शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि लाग्छ खर्च ?
काठमाडौँ, ६ बैशाख । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दशौँ कलेजो प्रत्यारोपण सफल भएको छ । कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार (हिजो) शिक्षण अस्पतालमा दशौँ प्रत्यारोपण गरेको हो ।
डा भण्डारीका अनुसार प्रत्यारोपणका लागि कलेजो फेल भएका ३१ वर्षका बिरामी पुरुषलाई उनकी ३० वर्षकी श्रीमतीले कलेजो दान गरेकी हुन् ।
त्रिवि शिक्षण अस्पतालमा १७ जेठ २०७६ मा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यस यताको अवधीमा बीचको केही समय कोभिड १९ को महामारीले प्रत्यारोपण निरन्तरतामा अवरोध सिर्जना गरेको थियो ।
‘अहिले पछिल्लो पटक भने लभगभ ३ महिनाको अन्तरमा हामीले प्रत्यारोपण गर्न थालेका छौँ,’ डा भण्डारीले भने । शिक्षण अस्पतालमा नवौँ प्रत्यारोपण गत २९ पुसमा भएको थियो ।
शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि लाग्छ खर्च ?
कलेजो प्रत्यारोपण अंग प्रत्यारोपणमध्ये जटिल र महंगो मध्येको एक हो ।
डा भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्दा २५ देखि ३५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । ‘प्रत्यारोपण सम्पन्न गर्न औषतमा ३० लाख रुपैयाँ भन्नु पर्ला,’ डा भण्डारीले भने ।
त्रिवि शिक्षण अस्पतालमा सोमबार र बुधबार कलेजो सम्वन्धी रोगको परीक्षण तथा उपचार गर्न डा भण्डारीले ग्यास्ट ग्यास्ट्रो ओपिडी चलाउने गरेका छन् ।
‘बिरामीले सोमबार वा बुधबार हाम्रो ओपिडीमा आउनु परयो । त्यसपछि प्रत्यारोपण गर्न पर्ने नपर्ने ? कहिले गर्ने ? को दाता हुनसक्छ लगायतका विषयमा सल्लाह हुन्छ,’ डा भण्डारीले भने ।
नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण भने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा गरिएको हो । २२ मंसिर २०७३ मा गरिएको सो प्रत्यारोपणका लागि ३८ वर्षका भाईलाई ४२ वर्षकी दिदीले कलेजो दान गरेकी थिईन । त्यस यता केन्द्रले पनि नियमित रुपमा कलेजो प्रत्यारोपण गर्दै आएको छ ।
यता निजी क्षेत्रबाट चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरले पनि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिरहेको छ ।
सम्पर्क इमेल : [email protected]