स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुलद्धारमा कृतिम फोक्सो जडान
काठमाडौँ, २४ चैत । स्वास्थ्य मन्त्रालयको मुलद्धारमा आज कृतिम फोक्सो जडान भएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएआईडी)को स्वच्छ हावा परियोजनासंगको सहकार्यमा एक जोडी कृतिम फोक्सो जडान गरेको हो ।
वायु प्रदुषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्नका लागि यो फोक्सो जडान गरिएको मन्त्रालयले जनाएको छ ।
धेरै देशहरुले वायु प्रदूषणको सामाना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तर सम्वन्धी तथ्यांकले विश्वका १३१ देशहरु मध्ये धेरै वायु प्रदुणण हुने देशहरुमा नेपाल १६ औँ स्थानमा रहेको छ । सन् २०१९ मा वायु प्रदुषणका कारण नेपालमा ४२ हजार १०० जनाको मृत्यु भएको र त्यसमध्ये काठमाडौँमा मात्रै ५ हजार ८० जनाको मृत्यु भएको बताइएको छ । नेपालमा दीर्घकालिन फोक्सोको रोग सीओपीडी बढी हुने देश हो । सीओपीडी हुने कारणमध्ये ६६ प्रतिशत बायु प्रदुषण हो भनिन्छ ।
वायु प्रदुषणको अवस्था हेर्न तथा यसले हामीलाई कस्तो असर गरिरहेको छ भन्ने देखाउनका लागि यो फोक्सो जडान गरिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए ।
‘यो कृतिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको छ, जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्बित गर्दछ । ३० दिनको अवधीमा यो जोडी फोक्सोको रंग वायु प्रदुषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानी गरिरहेको छ भनेरदेखाउन बुझाउन मद्धत हुन्छ,’ डा अधिकारीले भने ।
उनले उक्त कृतिम फोक्सो संगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइने समेत बताए ।
सम्पर्क इमेल : [email protected]