‘स्वस्थ रहनका लागि ७-८ घण्टा निदाउँ’
निद्रा कम हुँदा के के समस्या देखिन्छ ?

काठमाडौँ, ४ चैत । स्वस्थ जीवनशैलीका लागि ‘गुणस्तरीय निद्रा’ अपरिहार्य भएको चिकित्सकहरुले बताएका छन्।
विश्व स्लिप डे को अवसरमा ‘नेप्लिज सोसाइटी अफ स्लिप डिस्अर्डस’ले शुक्रबार आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले गुणस्तरीय निद्रा स्वस्थ जीवनशैलीका अपरिहार्य रहने बताएका हुन् ।
उनीहरुका अनुसार स्वस्थ व्यक्तिका लागि २४ घण्टामा कम्तीमा ७ देखि ८ घण्टा निद्रा आवश्यक छ । यसलाई गुणस्तरीय निद्रा भएको मान्न सकिन्छ ।
सोसाइटीका महासचिव डा योगेश न्यौपानेले आवश्यकताभन्दा धेरै र थोरै सुत्नु दुवै समस्या भएको बताए।
उनले भने, ‘निद्रा सम्बन्धी विषयलाई हामीले धेरै प्राथमिकता दिदैनौ। तर निद्रा नपुग्दा व्यक्तिको दैनिकी र स्वास्थ्यमा धेरै समस्या पर्न सक्छ।’
निद्रा कम हुँदा के क समस्या देखिन्छ ?
डा न्यौपानेले अपुरो निद्राले थकाई महसुस हुने, टाउको दुख्ने, चिडचिडाहट हुने, तनाव हुने लगायत समस्या निम्त्याउने उनले बताए। उनका अनुसार १७ देखि २० प्रतिशत व्यक्तिमा घुराई सम्बन्धी समस्याले अन्य स्वास्थ्य समस्या निम्त्याउँछ।
एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्न उनको सुझाव छ। दिउँसो सकेसम्म नसुत्ने र सुत्नै परे ४५ मिनेटभन्दा धेरै सुत्न नहुने उनले जानकारी दिए।
छाती रोग तथा निद्रा विकास विशेषज्ञ डा राजु पंगेनीले सामान्य व्यक्तिमा भन्दा घुर्ने व्यक्तिमा मुटु सम्बन्धी समस्या बढी हुन सक्ने बताए।
आफूले हेर्ने धेरै बिरामीहरु कार्डियोलोजिस्टले रिफर गरेका बिरामीहरु हुने गरेको उनले बताए।
घुर्ने व्यक्तिमा उच्च रक्तचाप ३० देखि ८३, मुटु सम्बन्धी रोग ३० देखि ५८ प्रतिशत जोखिम हुने सोसाइटीले जनाएको छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




