टिप्पणी :

प्रहरी पछि अर्को गल्ती गर्दै चिकित्सक

काठमाडौँ, २८ माघ ।  दिनभर बिरामीको शल्यक्रिया गरेर अपरान्ह तिर घर फर्कदै गरेका राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंह मुल गेटमा पुग्दा नपुग्दै प्रहरीको कुटाइमा परे ।

राष्ट्रपतिको सवारी सुरक्षामा डिउटी बसेका प्रहरीका बरिष्ठ हवल्दार शम्भुजंग गुरुङले उनीमाथि लाठी हानेको पुष्टि भएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालयले गुरुङलाई निलम्बन गर्दै छानविन सुरु गरेको जनाएको छ ।

घटना के कारणले भएको हो, छानविन पछिको प्रतिवेदनले यथार्त भन्ला नै । तर अहिले सरसर्ती हेर्दा डाक्टरमाथि अनावश्यक बल प्रयोग भएको मान्नलाई गाह्रो हुँदैन । यस कारण पनि हुन सक्छ घटनापछि शुक्रबार नै काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की नेतृत्वको टोली ट्रमा सेन्टर पुगेर चिकित्सकसंग छलफलमा बसेका थिए । उनीहरुले घटना विवरण अनुसार प्रहरीको गल्ती भएको भन्दै प्रक्रिया अनुसार कारवाही अघि बढाउने बताएका थिए । सोही अनुसार अहिले प्रहरीले सम्लग्न व्यक्तिलाई निलम्बन गरी अनुसन्धान सुरु भएको जनाएको छ ।

उता प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको बताइरहेका बेला यता चिकित्सकहरुको संगठन नेपाल चिकित्सक संघले भने हतार हतार अस्पताल बन्दको निर्णय गरेको छ । कारवाही प्रक्रिया अघि बढी सकेको सन्दर्भमा हतार हतार बन्दको घोषणा गर्नुले चिकित्सक संघको भूमिकामा समेत प्रश्न उठ्न थालेको छ ।

अस्पतालको सेवा अत्यावश्यक सेवा अन्तरगर्त पर्दछ । यसै पनि यो जुन सुकै अवस्थामा बन्द गर्न पाईदैन । तर संघले भने यसलाई हलुका रुपमा लिएर लाखौँ बिरामीको जनताको उपचार पाउनु पर्ने अधिकारमाथि धावा बोलेको छ ।

प्रहरीले डाक्टर कुटेर जसरी गल्ती ग¥यो त्यसैगरी उपचार सेवालाई बार्गेनिङको टुल बनाई संघले अर्को गल्ती गर्दैछ ।

त्यसो त डाक्टरको एउटा समूहले बन्दको समर्थन गरे पनि अर्को समूहले बन्द गर्न हुँदैन भन्दै आएको छ । सेवा बन्द गर्नु डाक्टरको इथिक्स होइन भन्ने समूह पनि ठूलो छ । तर दुबै समूहको साझा धारणा के हो भने डाक्टरको सुरक्षा प्रति हामी कम्प्रमाइज गर्दैनौँ ।

हिजो घटना र आज दिनभरको डेभलपमेन्ट पछि अस्पतालको सेवा बन्दको घोषणा किन ? ? हामीले अनाहकमा कुटाई पनि खानु पर्ने, अनि उपचार पनि दिनु पर्ने ? हामी असुरक्षित भई भई कसरी सेवा दिन सक्छौँ ? बन्दको पक्षमा रहने अधिकांश चिकित्सकले गर्ने प्रतिप्रश्न हो यो ।

कुरा जायज पनि हो । डाक्टर सहित सबै स्वास्थयकर्मीको सुरक्षा हुनै पर्छ । तर एक दिन स्वास्थ्य संस्था बन्द गरेर सुरक्षा हुन्छ त ? प्रश्न यो हो ।
एक दिन सेवा बन्द गर्दा कति बिरामी उपचारबाट बन्चित हुन्छन् ? सेवा बन्द गर्ने डाक्टरको त्यसतर्फ ध्यान गएको छ ? एक जना प्रहरीले गल्ती गर्यो त्यसको सजाय निर्दोष बिरामीमाथि पोख्न मिल्छ ? घटनामा सम्लग्न व्यक्तिमाथि कारवाही प्रक्रिया सुरु हुँदै गर्दा छानवीन कसरी अघि बढ्छ भनेर पर्खिन पनि त सकिन्थ्यो होला । डाक्टरका नेताहरुलाई किन बन्दको हतार ?

भीभीआईपीको सवारीले जनतालाई सास्ती भयो, त्यसरी जनतालाई दुख दिन पाइदैन् भनेर कतिपय सेलिब्रेटी डाक्टरले प्लेकार्ड उचालेको देखियो । तर भीभीआईपी तर्फ प्रश्न गर्ने डाक्टरले आफूहरुको भूमिका के हो भन्ने ख्याल राख्नु पर्छ कि पर्दैन ? बिरामीको उपचार गर्ने दायित्व बोकेकाहरुले चाहि उपचार नगरी बिरामी जनतालाई दुख दिन पाईन्छ ? प्र्रश्न डाक्टर तर्फ पनि सोझिन थालेको छ ।

अत: डाक्टर जस्तो विद्धता बोकेको व्यक्तिले वा डाक्टरहरुको संस्थाले स सानो निहुँमा उपचार गर्दिन भनेर गैर जिम्मेवारी प्रस्तुत गर्ने होइन । कानून अनुसार कारवाही गर्न दवाव दिनका लागि अरु थुप्रै विकल्पहरु छन् । तर आफूहरुको झगडामा निरिह बिरामीलाई अचानोमा पार्नु हुँदैन् । यसो गरियो भने डाक्टर बिरामीबीचको सम्वन्धमा समेत झनै असर गर्न सक्छ । त्यसैले भोलिको बन्दलाई फिर्ता लिऔँ, आक्रमण गर्ने विरुद्धका कारवाहीका लागि अन्य किसिमले दवाव दिऔँ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *