डाक्टरहरुलाई ‘दबंग शैली’मा पक्राउ गरिएको संघको आरोप

2.2k
Shares

काठमाडौँ, ४ असार- नेपाल चिकित्सक सङ्घले देशका विभिन्न भागमा कार्यरत चिकित्सकलाई गरिएको गिरफ्तारीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घले आज एक विज्ञप्ती जारी गर्दै राज्यको जिम्मेवार निकायलाई कानुनसम्मत् छानविन गर्ने अधिकार सुरक्षित रहँदारहँदै छानबिनका नाममा चिकित्सक तथा स्वास्थ्य संस्थामाथि असहिष्णुता देखाएको भन्दै आपत्ति व्यक्त गरेको छ ।

सङ्घका महासचिव डा. मुक्तिराम श्रेष्ठले छानविन गर्ने विभिन्न निकाय हुँदापनि कार्यक्षेत्रबाट हत्कडी लगाएर गिरफ्तार गर्नुले चिकित्सा पेसाको अपमान भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसैबीच संघले शनिबार नै अर्को विज्ञप्ती जारी गर्दै दबंग शैलीमा चिकित्सकहरुलाई पक्राउ गरिरहँदा नेपाल मेडिकल काउन्सिल मौन रहेको भन्दै धारणा तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासचिव डा श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,‘देशका विभिन्न स्थानमा कार्यरत चिकित्सकहरुलाई सामान्य मानव अधिकार समेतको बेवास्ता गर्दै दबंग शैलीमार्फत कार्यक्षेत्रबाट बिना पुर्जी समातिएको सम्बन्धमा हालसम्म नेपाल मेडिकल काउन्सिलको कुनै पनि आधिकारी प्रतिक्रिया सार्वजनिक नभएकोले सो सम्बन्धमा नेपाल मेडिकल काउन्सिलको आधिकारीक धारणा सहित यथार्थ सार्वजनिक गर्नु हुन अनुरोध छ ।’

नक्कली प्रमाणपत्र छानवीन गर्न नेपाल मेडिकल काउन्सिलको सहयोगमा चार महिना अघि देखी अप्रेसन क्वाक चलाएको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले शुक्रबार र शनिबार साडे तीन दर्जन बढी चिकित्सक पक्राउ गरेको छ । अघिल्लो पटक पक्राउ गर्दा धारणा सार्वजनिक गरेको काउन्सिलले पछिल्लो पटक भने मौन देखिएको छ ।

Press Release of NMA 2073-3-4-page-001

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *