निर्वाचनको दिन खोप लगाउने निर्णय भएको छैन् : स्वास्थ्य मन्त्रालय
आयोगले भन्यो - निर्वाचनको दिन मतदान केन्द्र नजिकै खोप कार्यक्रम सञ्चालन गर्नु निर्वाचन आचारसंहित विपरित
काठमाडौँ, २४ बैशाख । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको गत वुधबारको दैनिक कोरोना ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगिता मिश्राले आगामी ३० बैशाखको दिन कोभिडविरुद्धको पहिलो, दोस्रो र बुस्टर डोज खोप लगाउन छुटेका सबैलाई मतदान केन्द्रमै खोप लगाउने व्यवस्था मिलाइएको बताएकी थिईन् ।
उनले सो दिन मतदाता परिचयपत्र संगै खोप कार्डसमेत लिएर आउन आव्हान गरेकी थिईन् । तर त्यसबेला सो आव्हान हचुवाको भरमा गरिएको तथ्य खुलेको छ ।
मन्त्रालयकै सहप्रवक्ता डा समिरकुमार अधिकारीले मतदान केन्द्र नजिकै खोप केन्द्र राखेर मतदानमा आएकाहरुलाई खोप लगाउने भन्ने कुनै निर्णय नभएको बताए । ‘मैले यति मात्रै भनु कि ३० बैशाखका दिन मतदान केन्द्रमा खोप लगाउने भन्ने कुनै निर्णय भएको छैन्, त्यस दिन मतदान केन्द्र नजिक खोप केन्द्र सञ्चालन गर्न पनि मिल्दैन,’ उनले भने ।
त्यसो त प्रवक्ता मिश्राले स्वास्थ्य मन्त्री विरोध खतिवडाले चुनावी भाषणका क्रममा राखेको धारणालाई लिएर उक्त निर्णय भएको बताएकी हुन् । तर चुनावका दिन मतदान केन्द्रमा खोप कार्यक्रम गर्न निर्वाचन आचारसंहिता विपरित हुने निर्वाचन आयोगले समेत मन्त्रालयलाई स्पष्ट पारिसकेको छ ।
‘यसबारेमा मन्त्रालयका उच्च अधिकारीहरुलाई थाहा छ । यदि चुनावको दिन मतदान केन्द्रमा खोप लगाइयो भने त्यो निर्वाचन आचारसंहिता विरुद्ध हुन्छ । त्यसो गर्न पाईदैन भनेर स्पष्ट रुपमा भनिसकेका छोँ । प्रवक्ताको यो आव्हान पनि आचारसंहित विपरित छ । त्यसलाई सच्याउन पर्छ,’ आयोगका एक सदस्यले भने ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख सागर दाहालले सुदूरपश्चिम प्रदेशले चुनावको दिन खोप अभियान सञ्चालन गर्ने प्रस्ताव राखेपछि त्यसलाई सदर गर्दै सोही अभियान देशव्यापी गराउने कुरा भएको बताएका थिए । सोही अनुसार मन्त्री खतिवडाले चुनावका दिन खोप लगाउने बताएका थिए ।
मन्त्रालयका एक अधिकारीले भने, ‘यदि त्यसो गर्ने हो भने त छुटेकाहरुलाई चुनावकै दिन नागरिकता बाँडे पनि हुने भयो, स्वास्थ्य परीक्षण गराए पनि हुने भयो, बृद्धभत्ता बाँढे पनि हुने भयो । तर यी सबै कुराहरु आचारसंहित विपरित हुन् । मन्त्री र प्रवक्ताको कच्चा निर्णयको उपज हो,’ मन्त्रालयका एक बरिष्ठ अधिकारीले भने ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




