हैजाबाट जोगिन सरकारको हारगुहार !
काठमाडौँ, ३१ जेठ – भूकम्प प्रभावित जिल्लामा हैजा फैलन सक्ने भन्दै सरकारले हैजा विरुद्धको खोप उपलव्ध गराइदिन विश्व स्वास्थ्य सङ्गठनलाई आग्रह गरेको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनमा हैजाविरुद्धको खोपका लागि अपिल गरेको जनाएको छ ।
महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले एक हप्ताअघि नेपालमा हैजाविरुद्धको खोप उपलब्ध गराइदिन आफूहरुले सङ्गठनमा अनुरोध पत्र पठाएको जानकारी दिए ।
उनले भने “भूकम्प प्रभावित जिल्लामा खानेपानीका पाइप फुटेर, खानेपानीका मुहान वरिपरि फोहर हुँदा हैजा फैलने खतरा भएकाले त्यसका लागि बच्ने उपाय गरे पनि खोपको पनि आवश्यकता भएकाले सङ्गठनलाई खोपका लागि दरखास्त दिएका छौँ ।” तर त्यसको जवाफ भने अझैसम्म नआएको उनले बताए ।
डा. मरासिनीका अनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा दुषित पानीजन्य रोग झाडापखाला, आउँ, टाइफाइडलगायतका रोग देखिएको छ । हैजा अहिलेसम्म नदेखिए पनि सम्भावना रहेको भन्दै खोप उपलव्ध गराउन आग्रह गरेको बताए ।
उनले भने अन्य रोगको प्रकोप नियन्त्रण गर्न अलि सजिलो छ । ‘हैजा लागेमा मानिसको छ घन्टामा मृत्यु हुने भएकाले यसको प्रकोप रोक्न खोपको आवश्यकता परेको हो ।” गत वर्ष पनि महाशाखाले रौतहट र नुवाकोट जिल्लामा खोप लगाएको थियो । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



