सिंहदरबार परिसर भित्र पुन: सञ्चालनमा आयो हेल्थ डेस्क सेवा

काठमाडौँ, ६ चैत । वीर अस्पतालले संघीय सरकारको प्रमुख केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार परिसर भित्र हेल्थ डेस्क पुन: सञ्चालनमा ल्याएको छ । सात हजार बढी कर्मचारी कार्यरत रहेको र दैनिक सयौँ सेवाग्राही छिर्ने सिंहदरबारमा आकस्मिक स्वास्थ्य सेवा उपलव्ध गराउने हेतुले पुन: हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।
यसअघि २०७४ साल फागुन १६ गते देखि पनि त्यहाँ हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सेवा दिईदै आएको थियो । तर कोभिड १९ को संक्रमण देखा परेपछि र स्थान अभावको कारण देखाउँदै करीब दुई वर्ष अघि देखि त्यहाँको सेवा बन्द गरिएको थियो ।
नयाँ स्थान र नयाँ संरचनाका साथ तयार गरिएको हेल्थ डेस्कको आइतवार मुख्य सचिव शंकरदाश वैरागीले उदघाटन गरेका थिए । उद्घाटन पछि वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँच गरी सेवा प्रारम्भ गरेको हेल्थ डेस्क प्रमुख दीपक मुडभरीले बताए ।
उनका अनुसार अब त्यहाँको हेल्थ डेस्कमा सेवा दिनका लागि विहान १० बजे देखी दिउँसो ३ बजे सम्म वीर अस्पताल का दुई जना चिकित्सक र ३ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

हेल्थ डेस्कको स्वास्थ्य सेवामा के के पर्दछन् ?
हेल्थ डेस्कमा अक्सिजन सहित वेड, स्वास्थ्य परीक्षण, उच्च रक्तचाप, मधुमेह, तथा घाउहरुको उपचार तथा सफा गर्ने कामहरु हुन्छ । सो हेल्थ डेस्कमा सुविधासम्पन्न एम्बुलेन्स पनि हुने छ र स्वास्थ्य समस्या भएकाहरुलाई स्वास्थ्य परामर्श दिदै आवश्यक औषधि समेत दिइन्छ । थप उपचार आवश्यक परेमा तुरुन्तै सरकारी अस्पतालमा रिफर गरिन्छ ।
कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्न स्वास्थ्य समस्या र जाँचको लागि कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस, कार्यालय समयको बचत होस पनि भन्ने उदेश्यले हेल्थ डेस्क सञ्चालनमा ल्याइएको मुख्य सचिव बैरागीले बताए । उनले हेल्थ डेस्क सञ्चालनमा आएपछि कर्मचारीका साथै सिंहदरबार भित्र आउने सेवाग्राहीले समेत आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।

हेल्थ डेक्सका प्रमुख मुडभरीले आवश्यकताको आधारमा समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नशा रोग, नाक कान घाटी रोग, छाला, महिला रोग लगायत विषेशज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको जानकारी दिए ।
उनले प्रधानमन्त्री कार्यालयको निर्माणकार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भाग को भुइ तल्लामा सुविधासम्पन्न हेल्थ डेक्स र एम्बुलेन्स सहितको सेवा सञ्चालमा ल्याईने समेत जानकारी दिए ।
अहिलेको हेल्थ डेस्क प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पूर्वी प्रवेशद्वार सं्रगै पहिलेको राष्ट्रिय पुर्नर्निर्वाण प्राधिकरण रहेको भवनमा रहेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

