स्वास्थ्यमा देखिएका समस्या हल गर्न पार्टीले पहलकदमी लिन्छ : देउवा
काठमाडौँ ३ जेठ – नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न पार्टीले पहल गर्ने बताएका छन् ।पार्टीको तेह्रौँ महाधिवेशनमा सहयोग पुरयाएको भन्दै स्वास्थ्यकर्मीलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । देउवाले स्वास्थ्य मन्त्रालयमा चिकित्सक समूहकै सचिव बनाउनका लागि पार्टीले पहल गर्ने आश्वासन समेत दिए ।
‘स्वास्थ्यका विविध समस्याहरु छन् । त्यसमा पछिल्लो पटक स्वास्थ्य समूहकै सचिव हुनुपर्छ तपाईँहरु आन्दोलित भएको समेत जानकारी छ । यी सबै समस्याका लागि पार्टीले अव छुट्टै समूह बनाउछ र पहल गर्छ । तपाँईहरु ढुक्क हुनुहोस’ स्वास्थ्यकर्मीहरुलाई देउवाले आश्वासन दिए ।
पार्टी महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल स्वास्थ्यकर्मी सङ्घले १३औँ महाधिवेशनका समयमा निःशुल्क स्वास्थ्य शिविर राखी सहयोग गरेको भन्दै धन्यवाद दिए । उनले पार्टीमा स्वास्थ्य क्षेत्र सम्बद्ध व्यक्ति पर्दा पछाडिका नायक भए पनि उनीहरुलाई पार्टीले उचित स्थान दिन नसकेको उल्लेख गर्दै आउँदा दिनमा स्वास्थ्य क्षेत्रलाई पनि साथै लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल चिकित्सक सङ्का अध्यक्ष डा अञ्जनीकुमार झा, स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष रामजी घिमिरे, नर्सिङ युनियनका अध्यक्ष जानकी केसी, स्वास्थ्यकर्मी सङ्घका सहअध्यक्ष ओमप्रसाद उपाध्याय स्वास्थ्य क्षेत्रका व्यक्ति नै स्वास्थ्य मन्त्रालयका सचिव हुनुपर्ने माग राख्दै देउवा र कोइरालालाई स्वास्थ्य क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 







