त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले जन्माइन् शिशु

त्रिशूली, २९ मंसिर । त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् ।
व्यक्तिगत सुरक्षा कवच सहितको साबधानी अपनाएर प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराएका थिए । ती सङ्क्रमित महिलाको लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो ।
कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि सङ्क्रमितको स्वास्थ्यमा समस्या देखिए काठमाडौँमा पठाइने गरिएको थियो ।
“कोरोना सङ्क्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराउँदै आए पनि गर्भवतीमा सङ्क्रमण देखिएको सेवाग्राहीलाई सुत्केरी सेवा दिएको यो पहिलो पटक हो ।” चिकित्सक केसीले भनिन्,“अस्पतालमा हाल उपचारको लागि अलग आइसोलेशन नभए पनि विशेष आइसोलेशन तयार गरेर सामान्य अवस्थामा नै उहाँ सङ्क्रमित महिलालाई सुत्केरी गराएका हौ ।”
सेवाग्राहीको वृद्धि
अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेका अनुसार कोभिड–१९को सङ्क्रमण शुरु हुनपूर्व अस्पतालमा सुत्केरी सेवा लिनेको सङ्ख्या ५०/६० को हाराहारीमा हुने गरेकोमा हाल सो सङ्ख्या २०० नाघ्न थालेको छ ।
काठमाडौँमा गर्भवती जाँच गराउँदै आएका जिल्ला फर्किएसँगै परीक्षण गराउनेको दर पनि बढेको जनाइएको छ । “कोरोनाको जोखिमको कारण फोनमार्फत चिकित्सकसँग परामर्श लिन आग्रह गर्दै आएका छौं ।” अस्पतालका अध्यक्ष न्यौपानेले भने,“चिकित्सकको परामर्शको आधारमा आवश्यक परेमा मात्र अस्पताल बोलाउदा दैनिक गर्भवती जाँच गर्नेको सङ्ख्या वढ्दो छ ।”
अर्कोतर्फ अस्पतालले पछिल्लो एक वर्षदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञमार्फत सेवा उपलब्ध गराउन शुरुआत गरेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो ।
यसैबीच अस्पतालले यस साताभित्रै सघन उपचार कक्ष (आइसियू) सेवा शुरुआत गर्ने भएको छ । अस्पतालको स्तरवृद्धि गरी ५० श्यया पु¥याइएको छ । योसँगै दश श्ययाको सघन उपचार कक्ष सञ्चालनको लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । रासस
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



