पाँच बर्षमा चुरोटका अम्मली डेढ प्रतिशतले घटे
रामप्रसाद न्यौपाने
काठमाडौँ, ३० कात्तिक । नेपालमा पछिल्लो पाँच बर्षको अवधीमा चुरोट सेवनकर्ता (अम्मली) १.४ प्रतिशतले घटेका छन् । तर यहि अवधीमा पुरुष सेवनकर्ता भने १ प्रतिशतले बढेको पाइएको छ ।
नेपालमा नसर्ने रोग सम्वन्धि तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण) ले यस्तो तथ्य उजागर गरेको हो । हरेक पाँच पाँच बर्षमा हुने यो सर्वेक्षण पछिल्लो पटक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाईमा गत फेब्रुअरी देखि मे महिनासम्म गरिएको थियो । सर्वेक्षण १५ देखि ६९ बर्ष उमेर समूहका ५ हजार ५९३ जना बयस्कमा गरिएको थियो ।
सन् २०१९ को सर्वेक्षणले धूमपान सेवन गर्नेको प्रतिशत पुरुषमा २८ र महिलामा ७.५ गरी औषतमा १७.१ प्रतिशत देखाएको छ । पाँच बर्ष अघि अर्थात सन् २०१३ मा गरिएको यस्तै सर्वेक्षणमा पुरुष २७ प्रतिशत र महिला १०.३ प्रतिशत गरी औषत १८.५ प्रतिशत देखाएको थियो । यस आधारमा धूमपान सेवनकर्ता (अम्मली) पाँच बर्ष अघिको तुलनामा १.४ प्रतिशतले घटेको भनिएको हो ।
त्यसो त पुरुष र महिला सेवनकर्ताको छुट्टा छुट्टै विवरण हेर्दा सन् २०१३ मा भन्दा सन् २०१९ मा पुरुषको प्रतिशत बढेको छ भने महिलाको संख्या घटेको छ ।
यस्तै सर्वेक्षणले पाँच बर्ष अघिको तुलनामा पुरुषहरु झन् कम उमेरमा र महिलाहरु केही बढी उमेरमा धूमपानको लतमा प्रवेश गरेको देखाएको छ । पाँच बर्ष अघि पहिलो पटक धुमपान सेवन गर्दाको औषत उमेर पुरुषको १८. ५ बर्ष थियो । अहिलेको सर्वेक्षणले सो उमेर ठ्याक्कै १ बर्ष छिटो अर्थात १७.५ बर्ष भएको देखाएको छ । महिलाको हकमा भने पाँच बर्ष अघि धूमपान सुरु गर्ने महिलाको औषत उमेर १७ बर्ष छ महिना थियो भने अहिले सो उमेर बढेर १८ बर्ष ३ महिना पुगेको छ ।
यस्तै सर्वेक्षणले पाँच बर्ष अघिको तुलनामा दैनिक चुरोट सेवन गर्नेको प्रतिशत साढे २ प्रतिशतले घटेको देखाएको छ । पाँच बर्ष अघि महिला पुरुष गरी दैनिक औषत १५.८ प्रतिशतले चुरोट सेवन गर्दथे भने अहिले सो सो प्रतिशत घटेर १३.३ मा झरेको छ । यसमा पाँच बर्ष अघि दैनिक चुरोट सेवन गर्ने पुरुषको संख्या २२.१ प्रतिशत थियो भने यसबर्षको सर्वेक्षणले सो संख्या २०.८ प्रतिशतमा झरेको पाइएको छ । यस्तै महिलाहरुको प्रतिशत पाँच बर्ष अघि ९.६ थियो भने अहिले घटेर ६.७ मा झरेको छ ।
नेपालमा सूर्तिजन्य पदार्थ सेवन गर्ने २९ प्रतिशत
स्टेप्स सर्वेक्षण २०१९ ले नेपालमा सूर्तिजन्य पदार्थ (धूमपान र धुवारहित) सेवन गर्नेको प्रतिशत २८.९ प्रतिशत देखाएको छ । त्यसमा पुरुष ४८.३ प्रतिशत र महिला ११.६ प्रतिशत रहेको पाइएको छ । यस्तै दैनिक सूर्तिजन्य पदार्थ सेवन गर्नेको प्रतिशत पुरुषमा ४०.१ र महिलामा १० गरी औषत २४.१ प्रतिशत रहेको छ ।
विद्युतीय चुरोट सेवन गर्ने सून्य दशमलव ८ प्रतिशत
पछिल्लो समय शहरी इलाकामा विद्युतीय चुरोट – इ सिगरेट सेवन गर्ने फेसन चलेको छ । शहरी इलाकामा विशेषगरी युवापुस्ता इसिगरेटको लतमा झुम्मिएको देखिन्छ । यसपटकको सर्वेमा यसको पनि तथ्यांक लिने कोशिश गरिएको छ । सर्वेृले सून्य दशमलव ८ प्रशित प्रयोगकर्ता रहेको देखाएको छ ।
प्याकेटको डरलाग्दो चित्र देखेपछि ४५ प्रतिशत अम्मलीले चुरोट छाड्न चाहे
सर्वेक्षणले सूर्तिजन्य पदार्थको प्याकेटमा छापिने चित्रअंकित चेतावनिमुलक सन्देश (पिक्टोरियल हेल्थ वार्निङ) का कारण ४४.८ प्रतिशत अम्मलीले चुरोट छाड्न चाहेको बताएको छ ।
सरकारले विसं २०६८ सालमा ल्याएको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन त्यसको निर्देशिका तथा विसं २०७१ सालमा ल्याएको चित्र छाप्ने सम्वन्धी संसोधित निर्देशिका सबै सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमुलक स्वास्थ्य सन्देशले छोपिनुपर्ने व्यवस्था गरेको छ । कतिपय सूर्ति उद्योगीहरुले यो व्यवस्थाको विरोध गरेका छन् ।
यस्तै ७२.२ प्रतिशत बयस्कहरुले धूमपान नियन्त्रण सम्वन्धी सन्देश तथा गतिविधिबारे रेडियो तथा टेलिभिजन जस्ता सञ्चारमाध्यमबाट जानकारी प्राप्त गरेको बताएका छन् ।
सूर्तिजन्य पदार्थ सेवनकर्ता बढी भएको प्रदेश ५ नम्बर, कम भएको प्रदेश ३ नम्बर
स्टेप्स सर्वे २०१९का अनुसार सातवटा प्रदेशमा सबैभन्दा बढी सूर्तिजन्य पदार्थ प्रयोग गर्ने प्रदेश नं ५ ठहरिएको छ । सो प्रदेशमा सूर्तिजन्य पदार्थ सेवन गर्नेको प्रतिशत ३६.६ रहेको छ । जबकी देशको औषत प्रतिशत २८.९ रहेको छ ।
सबैभन्दा कम भने प्रदेश नं ३ मा रहेको छ । सो प्रदेशमा २२.२ प्रतिशत मात्रै सूर्तिजन्य पदार्थको प्रयोगकर्ता रहेको बताइएको छ ।
त्यसपछि प्रदेश नं १ रहेको छ । सो प्रदेशमा सूर्तिजन्य पदार्थको प्रयोगकर्ता २२.८ प्रतिशत मात्रै रहेको छ ।
त्यसपछि कम भएको प्रदेश गण्डकी प्रदेश हो । जहाँ २५.९ प्रतिशतले मात्रै सूर्तिजन्य पदार्थको सेवन गर्दछन् ।
त्यसपछि कर्णाली र प्रदेश नं २ मा समान २९.७ प्रतिशत सूर्तिजन्य पदार्थ सेवनकर्ता रहेका छन् ।
सुदूर पश्चिम प्रदेशमा भने सूर्तिजन्य पदार्थ प्रयोगकर्ता एक तिहाई बढी अर्थात ३३.८ प्रतिशत रहेको पाइएको छ ।
सम्पर्क इमेल : [email protected]