भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्राडा ढुण्डीराज पौडेलले दिए राजिनामा

काठमाडौँ, १८ बैशाख । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्राडा ढुण्डीराज पौडेलले पदबाट राजिनामा दिएका छन् । उनले आगामी २० बैशाख देखि लागू हुने गरी आज राजिनामा दिएका हुन् ।

प्राडा पौडेललाई सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले २ माघमा भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

प्राडा पौडेलले बर्तमान सरकारले १२ चैत अघि नियुक्त भएका पदाधिकारीलाई स्वेच्छाले राजिनामा दिन गरेको आग्रहलाई सिरोधार्य गर्दै राजिनामा दिएको बताएका छन् । उनले अस्पतालबाट कुनै पनि प्रकारको आर्थिक लाभ नलिने वचनबद्धता अनुसार लेखाको प्रक्रिया पुर्‍याउने कामका लागि बैठकमा भत्ता बुझेको भन्दै सो रकम पनि अस्पतालकै खातामा जम्मा गरि भौचर पेश गर्ने बताएका छन् ।

नाक कान घाँटी रोग विशेषज्ञ प्राडा पौडेल लामो समय भरतपुर अस्पतालमा इएनटी सर्जनको रुपमा काम गरेका थिए । पछिल्लो समय नेपालगञ्ज मेडिकल कलेजमा काम गरेका उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अहिले पनि भिजिटर प्रोफेसर हुन् ।

‘चिकित्सा सेवामा ४० बर्ष बढी विताइयो । अझै पनि यस क्षेत्रका लागि योगदान गर्ने अठोट छ, पदमा भए पनि नभए पनि । तर बर्तमान सरकारले आफ्नो सहजताका लागि गरेको आग्रहलाई हामीले सहयोग गर्नै पर्छ भनेर नै राजिनामा दिएको हुँ,’ उनले भने ।

उनले राजिनामा पत्र स्वास्थ्य मन्त्री निशा मेहतालाई इमेलमार्फत पठाएको बताए ।

यस्तो छ उनले लेखेको राजिनामा पत्र:

माननीय मन्त्री ज्यू
स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय
काठमाडौँ
बिषय: राजीनामा बारे ।
उपरोक्त बिषयमा मलाइ स्वास्थ्य मन्त्रालय को मिति २०८२\१०\२ को पत्रानुसार भरतपुर अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त गरेकोमा,  मिति २०७२ ११ २१ गतेको आम निर्वाचनबाट प्रचण्ड बहुमत सहित स्थापित सरकारले २०८२ चैत १२ गते सम्म सरकारबाट नियुक्त पदाधिकारीहरुलाइ स्वेच्छाले राजीनामा दिन गरेको आग्रहलाई सिरोधार्य गर्दै र सामाजिक संजालहरुमा पनि यस्तै मागहरु भएकाले, मिति २०८३ बैशाख २० बाट लागू हुने गरि भरतपुर अस्पताल बिकाश समितिको अवैतनिक अध्यक्ष पदबाट यो राजीनामा पेश गरेको छु।
मैले अस्पतालबाट कुनै पनि प्रकारको आर्थिक लाभ नलिने वचन बद्धता अनुसार मैले लेखाको प्रक्रिया पुर्याउनकामम्प लागि बैठकमा भत्ता वापत लिएको रकम पनि अस्पतालकै खातामा जम्मा गरि भौचर पेश गर्नेछु ।
मलाइ अस्पताल बिकाश समितिको अवैतनिक अध्यक्षमा नियुक्त गर्नु हुने तात्कालिक स्वा म ज्यु एवम स्वास्थ्य मन्त्रालय प्रती आभार प्रकट गर्दछु ।
दुई हजार उनन्साठी साल देखि २०६८ सम्म आँफुले नाक कान घाँटी विशेषज्ञको रुपमा सेवा गरेको अस्पतालको बिकास समितिको अध्यक्षको हैसियतले सेवा अभिबृद्धी र भरतपुर अस्पताललाई नेपालकै एक राष्ट्रिय महत्वको संस्थाको रुपमा स्थापना गर्न प्रस्ताव गरेको छु। भरतपुर जस्ता संघीय अस्पतालहरु प्रेषण केन्द्रको रुपमा रहेकाले यस्ता अस्पतालहरुमा आकस्मिक सेबा अझै भरपर्दो स्तरीय र प्रभावकारी हुनुपर्छ ।
शल्य चिकित्सा सहित विभिन्न बिधाका अति विशिष्ट सेवाहरुको पनि प्रवर्द्धन हुन आवस्यक छ।सि प्रयोजनका लागि विशेषज्ञ चिकित्सक सहितका चिकित्साकर्मीहरुलाइ अधिकतम परिचालन गर्न आवश्यक छ।
यी सबै ध्येय प्राप्तिका लागि संघिय अस्पताललाई शिक्षण अस्पताल एवम अनुसन्धान केन्द्रको रुपमा बिकास गर्नुपर्ने अपरिहार्यता रहन्छ।
बिगतमा प्रतिष्ठान स्थापना,नियुक्ति र संचालनको क्रममा उत्पन्न बिकृती बिथिती एवम आर्थिक अपब्यय बाट पाठ सिक्दै चिकित्सा सेवा , शिक्षा र अनुसन्धान संबन्धी कार्यहरु समेत संपादन गर्न एक मौलिक प्रकारको चिकित्सा बिज्ञान अध्ययन संस्थानको रुपमा बिकशित गर्नका लागि विनम्र निवेदन गर्छु।
भरतपुर अस्पताल समग्र चिकित्सा सेवा सुधारको एक प्रस्थान बिन्दु हुन सक्ने तथ्यलाइ आत्मसात गर्दै अग्रजले २०१३ सालमा भरतपुर अस्पतालको बिस्तार र बिकासका लागि प्रदान गरेको ४१ बिघा जग्गा ,भौतिक पुर्वाधारहरु र उत्साहित दक्ष चिकित्सक सहितको जनशक्तिहरु अस्पताललाई एक राष्ट्रिय चिकित्सा बिज्ञान अध्ययन संस्थाको रुपमा स्थापित गर्नका लागि आवश्यक श्रोत साधन र सामर्थ्य हुन भन्ने मेरो दृढ बिश्वास छ ।
चिकित्सा शिक्षा ,सेवा र अनुसन्धान एक अर्काका पुरक हुन। नेपालकै मध्य भागमा अवस्थित चितवन भरतपुर संघीय राजधानीको प्रवेश द्वार रहेको र यो भौगोलिक क्षेत्रमा संक्रामक संगै र ,बढदो सडक दुर्घटना ,वातावरणिय रासायनिक प्रदुषण ,लागू पदार्थ जन्य ,क्यान्सर जस्ता रोगहरुको समेत प्रकोप बढ्दै गएको उपचार महंगो र न्यून हुँदा न्यून आर्थिक अवस्था भएका बिरामीहरुका निम्ति उपचार दुसाध्य बन्दै गएको तर्फ पनि ध्यानाकर्षण गराउन चाहन्छु।
सरकारी चिकित्सा सेवामा मुलुकका विभिन्न भौगोलिक क्षेत्रमा ३७ बर्ष ब्यतित गरेको हाल पनि कोहलपुर स्थित मेडिकल कलेजमा कार्यरत रहँदा कर्णाली एवम सुदुर पश्चिम प्रदेशका जिल्लामा आगन्तुक प्राध्यापक एवम विशेषज्ञको हैसियतले सेवा गर्ने अवसर पाइरहे पनि चितवन जिल्ला आंफ्नो कर्मस्थान र भरतपुर आँफ्नो कर्मस्थलो भएकाले भरतपुर अस्पतालको अभिबृद्धी एव शैक्षिक संस्थाको स्थापना एव्म संचालनार्थ यथोचित स्वयं सेवि भुमिका निर्बाह गर्न सदैव तत्पर रहेको ब्यहोरा पनि सादर निवेदन गर्दछु।
आवस्यक परे भविश्यमा यसै अस्पतालको नाक कान घाँटी बिभागमा रहि स्वयं सेवि शिक्षक एवम कन्सल्टेण्ट इ एन टि सर्जनको हैसियतले सल्य चिकित्सा सहितको सेवाहरु प्रदान गर्न तत्पर रहेको ब्यहोरा निवेदन गर्दछु।
चालीस बर्ष भन्दा बढीको सरकारी स्वास्थ्य सेवा,दुई दसक जति विशेषज्ञ सेवा,दस बर्ष चिकित्सा शिक्षामा प्राध्यापन , नेपाल चिकित्सक संघ ,नेपाल मेडिकल मेडिकल काउन्सिलको जिम्मेवारी जस्ता अनुभव सँगालेको र चिकित्सा सेवा एवम शिक्षामा बर्षौं देखि बिचारहरु पोख्दै आएकोनाताले निबेदकको विनम्रतापुर्वक अनुरोध एवम सुझाव छ-अहिले बिभिद कारणले नागरिक र चिकित्सकहरु बिच चुलिंदै गएको अविश्वास र चिकित्सकहरुमा झन्झन् घनिभुत हुँदै गएको निराशाको अन्त्य हुनै पर्छ।सरकारी एवम सबै क्षेत्रमा कार्यरत चिकित्साकर्मिहरुमा उत्प्रेरणा जगाउन अपरिहार्य छ भन्ने निवेदन गर्दछु।
सादर धन्यवाद सहित यो राजीनामा पेश गरेको छु।
भवदीय
प्राडा ढुण्डीराज पौडेल
भरतपुर-१२ चितवन
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *