अध्यादेशपछि स्वास्थ्यका ६ वटा ट्रेड युनियन खारेज

काठमाडौँ, २३ बैशाख । सरकारले राष्ट्रिय स्तरको स्वास्थ्य सेवाका कर्मचारीहरुको ६ वटा ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज सूचना जारी गर्दै खारेज भएका ट्रेड युनियनहरुको नाम समेत सार्वजनिक गरेको छ ।
खारेजीमा कुल १२ वटा ट्रेय युनियनको नाम उल्लेख छ । ती मध्ये स्वास्थ्य सम्वध ट्रेड युनियन ६ वटा रहेको छ ।
विभागका अनुसार खारेजीमा पर्ने ट्रेड युनियनहरुमा निजामती सेवा ऐन २०४९ को (दोस्रो संसोधन २०६४) को दफा ५३ को उपदफा (२) बमोजिम दर्ता भएका राष्ट्रियस्तरका निजामती कर्मचारीहरुको ट्रेड युनियनहरुमा नेपाल स्वास्थ्यकर्मी संघ दर्ता नं २७२, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल दर्ता नं २८४ रहेको छ ।
यसैगरी नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को चौथो संसोधन २०७० को दफा ९२ क (१) अनुसार दर्ता भएका राष्ट्रिय स्तरका ४ वटा ट्रेड युनियनहरु पनि खारेज भएका छन् ।
ती ट्रेड युनियनहरुमा नेपाल स्वास्थ्यकर्मी युनियन दर्ता नं ३६०, स्वास्थ्यकर्मी युनियन नेपाल दर्ता नं ३६१, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल दर्ता नं ३६४ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन दर्ता नं ५५२ रहेका छन् ।
विभागले आज जारी सूचनामा केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेशको आधारमा आज पञ्जीकरण अधिकारीहरुको बैठक बसी खारेज गर्ने निर्णय गरेको उल्लेख छ ।
यो संगै स्वास्थ्यमा ट्रेड युनियनको नाममा गर्ने राजनीति केही मत्थर हुने अपेक्षा गरिएको छ ।

सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

