सेवा प्रवाह सुधार गर्न औषधी व्यवस्था विभागले राख्यो छलफल

व्यवसायी तथा आयातकर्ताले दिए सुझाव

काठमाडौं, २३ बैशाख । सेवा प्रवाह र कार्यसम्पादन सुधार गर्ने उद्देश्यका साथ औषधी व्यवस्था विभागले आज प्रमुख सरोकारवाला पक्षसंग छलफल गरेको छ ।

विभागको सभाहलमा भएको छलफल कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ, नेपाल औषधी आयातकर्ता संघ, नेपाल थोक औषधी व्यवसायी संघ, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ, नेपाल पशुपक्षी औषधी आयातकर्ता संघ र अल नेपाल होमियोप्याथिक एसोसिएसनका प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रममा विभागबाट प्रदान गरिने सेवा, सूचना प्रणाली, दैनिक कार्यसम्पादन तथा व्यवहारमा देखिएका समस्याबारे विस्तृत छलफल गरिएको बताइएको छ ।

छलफलमा सहभागी एक सदस्यले भने, ‘खास गरी विभागको नयाँ नेतृत्व सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन भन्ने कुरामा केन्द्रीत भयो । हामीले हाम्रा तर्फबाट सुझाव दियौँ ।’

भर्खरै निमित्ति महानिर्देशक भएर विभागको नेतृत्वमा आएकी शिवानी खड्गीले औषधीका क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान भएको भन्दै सेवालाई चुस्त बनाउनका लागि सुझावहरु खोजिएको भनिन् ।

उनले सहभागीहरूबाट प्राप्त हुने सुझावलाई नीतिगत तथा कार्यान्वयन तहमा उपयोग गर्ने योजना रहेको बताईन ।

विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले सरोकारवालाको सक्रिय सहभागिता र रचनात्मक सुझावले विभागको सेवा प्रवाहलाई अझ छिटो, सहज र पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास दिलाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *