‘रिप्लेसमेन्ट सर्जरी’ पछि छब्बिस बर्षीया महिलाको बन्यो योनिमार्ग

काठमाडौँ, ६ पुस । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालका चिकित्सकहरुले रिप्लेसमेन्ट सर्जरी गरी एक २६ बर्षिया महिलाको यौनाङ्ग (योनीमार्ग) बनाइदिएका छन् । जन्मजात रुपमा योनी नभएकी पोखरा घर भएकी ईशा (नाम परिवर्तन)को दुई साता अघि भेजाइनल रिप्लेसमेन्ट सर्जरी गरिएको हो ।

‘चिकित्सकीय भाषामा मायर रोकिटान्सकी कुस्टेर हाउजर सिन्ड्रम भनिन्छ । उसको जन्मजात रुपमा योनी नै थिएन । आकार त थियो तर टालिएको थियो । हामीले उसैको ठूलो आन्द्राको केही भाग झिकेर नयाँ योनी बनाइदियौँ,’ शुक्रबार अस्पतालद्धारा आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा आशा सिंहले भनिन् ।

योनी नै नबनेको ईशाको पाठेघर समेत सहि आकारमा थिएन । मसिनो धागो जस्तो छुट्टिएको अवस्थामा रहेको पाठेघर चिकित्सकहरुले सर्जरी गरी झिकिदिएका छन् ।

‘हामीकहाँ यकिन तथ्यांक छैन तर विभिन्न देशमा गरिएको अध्ययनले जन्मजात योनी नहुने समस्या ४ देखि ५ हजार जन्ममा हुन्छ भनिएको छ तर पाठेघर पनि नहुने भन्ने चाहि दुर्लभ केश हो,’ बरिष्ठ प्याडियाट्रिक सर्जन डा. आरपी चौधरीले अगाडी भने, ‘हामीले यो केश लियौँ, सर्जरी गरयौँ र सफल भयौँ । एक साता अघि नै उनी (ईशा) डिस्चार्ज भइसकेकी छन् ।’ उनले योनी नभएका केही बच्चाहरुको यसअघि नै पनि सर्जरी गरेको भन्दै २६ बर्षको उमेरमा योनी मार्ग बनाएको भने पहिलो पटक भएको बताए ।

‘उनी पढे लेखेकी परिवारका सदस्य हुन् । साथै जागिरे पनि । कहिल्यै महिनावारी नभएपछि तीन बर्ष अघि म कहाँ परीक्षणका लागि आएकी थिइन । त्यसबेला परीक्षणका क्रममा पत्ता लाग्यो योनी र पाठेघर नै छैन भन्ने कुरा,’ डा. सिंहले अगाडी थपिन, ‘तर उनको डिम्बासय साधारण अवस्थामा छ । बच्चा पाउन चाहेमा सेरोगेसी विधिबाट आफ्नै बच्चा जन्माउन पनि सकिन्छ ।’

चिकित्सकका अनुसार खासमा यस्तो समस्या महिनावारी हुने बेलामा थाह । तर ईशाले आफ्नो समस्या २३ बर्ष पुगेपछि मात्रै थाह पाइन । त्यो पनि इशान अस्पतालमा परीक्षण पश्चात ।

डा सिंह भन्छिन्, ‘तीन बर्ष अघि म संगै परीक्षण गर्न आएकी थिइन । त्यसबेला अल्ट्रासोनोग्राफी, एमआरआई र हर्मोनल परीक्षण गरिएको थियो । त्यसबेला नै उनको योनी र पाठेघर छैन भन्ने भएको हो । त्यसबेला नै ईशाले विहे नगर्ने सोच बनाएर फर्किएकी थिइन । तर अहिले फेरी मन परिवर्तन भएछ । त्यसैले सर्जरी गरियो र भेजाइनल बनाइयो ।’

चिकित्सकहरुले ठूलो आन्द्राको १० सेन्टिमिटर भाग काटेर योनी मार्ग बनाएका हुन् । करीव ६ घण्टा लगाएर गरिएको सर्जरीमा डा सिंह र चौधरीका अलावा डा सुमनविक्रम अधिकारी, एनेस्थेसियामा डा छन्दबहादुर बुढाथोकी सहितका टोली खटिएको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *