स्वास्थ्यका हाकिम सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौँ, १५ कात्तिक । स्वास्थ्य सम्वन्धि विभिन्न शीर्षकमा करीब ४ लाखको नक्कली विल बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
आरोपितहरुमा तत्कालिन प्रमुख भानभुक्त येङदेन, लेखाअधिकृत दहलमान राई , नासु हरिकुमार पोखरेल र तत्कालिन खोप सुपरभाइजर प्रकाश अधिकारी रहेका छन् ।
उनीहरुले आर्थिक बर्ष २०६९/०७० मा उक्त कार्यालयबाट सञ्चालित दादुरा रुवेला, सुरक्षित मातृत्व, हात्तिपाइले रोग उन्मुलन नियन्त्रण, परिवार नियोजन, औषधि खरीद, सूचना तथा सञ्चार केन्द्र स्थापना कार्यक्रमको साथै औषधि खरीदमा काम नै नगरी नक्कली बिल भरपाई बनाएर ३ करोड ८१ लाख ८१ रुपैयाँ ७५ पैसा रकम भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
अख्तियारद्धारा आज जारी विज्ञप्तीमा नक्कली विल भरपाई तयार गरी आफूलाई गैरकानुनी लाभ पुरयाउने र नेपाल सरकारलाई जनस्वास्थ्य जस्तो सम्वेदनशील विषयमा हानी नोक्सानी पुरयाउने बदनियत देखिएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ को ङ बमोजिमको कसुर अनुसार कारवाही गर्न माग गरिएको छ ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



