पाटन अस्पतालमा दुई वर्षमा दोब्बर बिरामी

1.6k
Shares


ललितपुर, १ असोज । पाटन अस्पतालमा बिरामी आउने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

दुई वर्षपहिलेको तुलनामा अहिले बिरामी आउने सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो । तर बिरामीको सङ्ख्या बढ्दै गए पनि त्यसअनुसारको पूवाधार नहुँदा व्यवस्थापन गर्न कठिन भएको अस्पतालले जनाएको छ ।

दुई वर्षपहिलेसम्म दैनिक झण्डै एक हजार तीन सय हाराहारीमा बहिरङ्ग सेवा(ओपिडी)मा बिरामी आउने गरेका थिए । अहिले यो सङ्ख्या झण्डै दुई हजारको हाराहारीमा छ । अस्पतालका अरू किसिमका सेवा लिन आउने बिरामीको पनि सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ ।

देशभरबाट आउने बिरामीको सङ्ख्या बढ्दै गएको पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताउनुभयो । यहाँको सेवा चित्त बुझेकै कारण बिरामी बढिरहेको उहाँको बुझाइ छ । सेवाग्राहीलाई अस्पतालले साधनस्रोतले भ्याएसम्मको सेवा दिइरहेको छ । उनले भने, “हामीले भएका साधन र जनशक्तिले भ्याएसम्मको सेवा बिरामीलाई दिइरहेका छौँ ।”

सानो क्षेत्रफलमा भएको अस्पतालमा चारैतिर भवन बनिसकेका छन् । भवन बनाउन बाँकी खाली जग्गा कम मात्रै बाँकी रहेको निर्देशक शर्माले बताए । अस्पतालमा बिरामीको चाप बढ्दा अझै धेरै सेवा विस्तारको खाँचो छ । कतिपय भवन पुराना बन्दै गएकाले पनि नयाँ भवनको खाँचो रहेको उहाँले बताउनुभयो । उनले भने, “तर अस्पताल परिसरमा नयाँ भवन बनाउन खाली जमीन ज्यादै कम छ ।”

अस्पतालमा प्रसूति सेवा लिन र गर्भवती जाँचका लागि आउने दुवै खालका बिरामी बढिरहेको छ । प्रसूति सेवा दिनेमा प्रसूतिगृहपछि यो अस्पताल काठमाडौँ उपत्यकाको नै दोस्रो भएको शर्माले बताए ।

काठमाडौँ उपत्यका र देशभरबाट नै सिफारिश भएर आएका बिरामी यहाँ आउने गरेका छन् । उनले भने, “प्रसूति सेवामा झन् ह्वात्तै बढेको छ ।” अस्पतालले परोपकार कोष स्थापना गरेको छ । जसबाट गरीब सेवाग्राहीलाई निःशुल्क उपचार हुँदै आएको छ ।

अस्पतालमा छिटो सेवा लिन चाहने बिरामीका लागि निजी क्लिनिक रहेको छ । निजी क्लिनिकबाट भएको नाफाबाटै निजी क्लिनिक सञ्चालन हुने गरेको हो ।

उनले भने, “खर्च गरेर पनि चाँडो सेवा लिन्छु भन्नेबाट महँगो शुल्क लिएर गरीब र असहायलाई निःशुल्क गर्नु हाम्रो उद्देश्य रहेको छ ।” निजी क्लिनिक र साधरण सेवामा दुवैमा सेवाको गुणस्तर उस्तै भए पनि निजीमा बिरामीले चाँडो सेवा पाउँछन् । कतिपय बिरामीलाई सघन उपचार कक्षमा समेत निःशुल्क उपचार गरिएको निर्देशक शर्माले बताए।

अस्पतालको सघनउपचार कक्ष सधैँ भीडभाड हुने गरेको छ । भुइँमा नै राखेर पनि उपचार गरिँदै आएको निर्देशक शर्माले बताए । उनले भने, “हामीले जसरी सक्छौँं, त्यसो गरेर नै उपचार गरिरहेका छौँ ।” उपचार नै नगरी बिरामीलाई फिर्ता नगरिएको उनको भनाइछ ।

सबै खालका बिरामीलाई समान व्यवहार गर्ने उद्देश्य रहेको अस्पतालले जनाएको छ । पैसा हुने र नहुने कोही पनि बिरामी उपचार नपाएर फर्कन नपर्ने उहाँको दाबी छ । उनले भने, “भुइँमा राखेर लगाएर पनि उपचार गर्ने तर बिरामीलाई फर्काएर नपठाउने हाम्रो उद्देश्य छ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *