चिसापानी अस्पतालमा सर्पदंशको उपचार शुरु

 

नवलपरासी, ३ साउन । पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ ।

यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको उपचार सेवा थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष कुलदीप आचार्यले जानकारी दिए ।

यस क्षेत्रमा सर्पदंशको उपचार सुविधा नहुँदा सर्पदंशपछि समयमै अस्पताल पुराउन नसकेका कारण ज्यानै गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको समयमा चिसापानी अस्पतालमा सर्पदंशको उपचार सेवा शुरु भएपछि तत्काल उपचार गर्न सहज हुने भएको छ ।

अस्पतालमा आएका सर्पदंशका सामान्य बिरामीलाई त्यहीँ नै उपचार गरिँदै आइएको छ भने जटिल खालका बिरामीका लागि जोखिम न्यूनीकरण गरी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पठाउने गरिएको छ ।

सर्पदंशका कारण हुने मृत्युदर कम गर्नका लागि चिसापानी अस्पतालमा शुरु गरिएको सर्पदंशको उपचार सेवा प्रभावकारी हुने अस्पतालका डा मन्जिला घिमिरेले जानकारी दिइन्।

पश्चिम नवलपरासीमा सर्पदंशको उपचारका लागि त्रिवेणीमा रहेको नेपाली सेनाको क्याम्प र जिल्लाको पृथ्वी चन्द्र अस्पताल, परासीमा उपचार सुविधा रहँदै आएकोमा चिसापानी अस्पतालमा पनि यो सेवा थप गरिएको हो ।

चिसापानी अस्पतालमा कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगविरुद्धको एन्टी रेबिज सुई सेवासमेत शुरु भएको छ । चिसापानी अस्पताल १५ श्यया क्षमताको पूर्ण सरकारी स्वामित्वको अस्पताल हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *