सरकार र डा. केसीका प्रतिनिधिबीचको दोस्रो चरणको बार्ता शिक्षा मन्त्रालयमा शुरु

काठमाडौँ, १ साउन । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको दोस्रो चरणको बार्ता शिक्षा मन्त्रालयमा शुरु भएको छ । यसअघि पहिलो चरणको बार्ता हिजो बेलुका ८ देखि १० बजेसम्म चलेको थियो ।

आजको बार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् । डा केसीका पक्षबाट बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र प्रितम सुवेदी सहभागी छन् ।

हिजोको बार्तामा सरकारी पक्षले डा केसीको स्वास्थ्यलाई ध्यान दिदै तत्काल काठमाडौँ ल्याउने व्यवस्था मिलाउन केसी पक्षसंग आग्रह गरेको थियो । तर केसी पक्षले भने पहिले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने अडानमा थियो ।

हिजोको बार्तामा भएका कुराहरुमा थप छलफल र तयारी पछि बार्ता आज बार्ता शुरु भएको बुझिएको छ ।

‘बार्ता भर्खरै शुरु भएको छ,’ डा केसी पक्षका एक सदस्य प्रितम सुवेदीले नेपाली हेल्थलाई बताए ।

डा. केसीलाई काठमाडौँ ल्याउने तयारी

डा गोविन्द केसीको स्वास्थ्य अवस्थालाई हेरेर सकेसम्म चाडैँ काठमाडौँ ल्याउनुपर्ने पक्षमा बार्तारत दुबै पक्ष सहमत भएका छन् । तर, डा केसीले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकबाट सरकार व्याक नभएसम्म काठमाडौँ नआउने अडान लिएपछि केही समस्या परेको छ ।

सरकारी टोलीका एक सदस्य भन्छन्, ‘विग्रदो स्वास्थ्य अवस्थालाई ध्यान दिएर हामी सकेसम्म छिटो ल्याउने प्रयासमा छौँ तर मागका विषयमा केही विषयले अडकिएको छ ।’

उनले विधेयकको बारेमा केही नयाँ निर्णय गरेर भएपनि केसीलाई काठमाडौँ ल्याउन पर्ने अवस्था रहेको बताए । सम्भवत आज हामी यो कुरामा टुंगोमा पुग्छौँ र डा केसीलाई ल्याउँछौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *