प्रदेश नं १ मा खोप कोल्ड रेफ्रिजेरेटर भ्यान सञ्चालन

 सुरेश झा

विराटनगर, २८ जेठ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा खोपको ढुवानी गुणस्तरीय तथा प्रभावकारी र सुरक्षित बनाउनका लागि नेपाल सरकारद्वारा प्रदेश नं १ का लागि प्रदान गरिएको खोप कोल्ड रेफ्रिजेरेटर भ्यान सञ्चालन कार्य आज यहाँ शुभारम्भ गरे ।

स्वास्थ्य सेवा विभागद्वारा प्रदान गरिएको सो भ्यानको साँचो मन्त्री घिमिरेले क्षेत्रीय मेडिकल स्टोर विराटनगरका प्रमुख भरत साहलाई प्रदान गरे ।

उक्त स्टोरबाट विगत समयदेखि रेफ्रिजेरेटर भ्यानको अभावमा कोल्ड बक्सहरुमा खोप ढुवानी हुँदै आएको थियो ।

गुणस्तरीय प्रविधिअन्तर्गत उक्त रेफ्रिजेरेटर भ्यानको शुरुवात भएको स्टोरका कार्यालय प्रमुख साहले जानकारी दिए ।

पूञ्र्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाद्वारा एफआइपिभी खोपको शुरुवात तथा पिसिभी खोपको भायल परिवर्तनसम्बन्धी तीनदिने क्षेत्रीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीको आज समापन अवसरमा खोप कोल्ड चेन व्यवस्थापन तथा ढुवानीका लागि रेफ्रिजेरेटर भ्यान ल्याइएको हो ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार नेपालमा २२ प्रतिशत बालबालिका खोपबाट वञ्चित छन् ।

विश्वमा ४४ किसिमका खोप भए पनि नेपालमा हालसम्म ११ किसिमको खोप दिने गरेको बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए ।

नेपालमा खोपको अवस्था, महत्व, खोपको असर र खोपलाई सुरक्षित बनाउने विषयमा जानकारीसमेत उनले गराए।

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले नेपालमा खोपका कारण बिफर उन्मूलन, धनुषटङ्कार, इन्सेफ्लाइटिस रोग नियन्त्रण, दादुरा तथा रुबेलाजस्ता अन्य संक्रमण रोग पनि नियन्त्रणमा आएको जानकारी गराए ।

सो अभिमुखीकरण कार्यक्रममा १६ जिल्लाका चिकित्सक, जनस्वास्थ्य प्रमुख, विशेषज्ञ तथा स्वास्थ्यकर्मीको सहभागिता थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *