बैतडी : शिविरमार्फत एक हजार बढीले सेवा लिए

20
Shares

बैतडी, २० जेठ । बैतडीको दोगडाकेदार गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर र एकीकृत घुम्ती शिविर शनिबार सम्पन्न भएको छ ।

शिविरमा नागरिकले स्वास्थ्य सेवा लिनुका साथै नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिएका छन् । शिविरमार्फत १८० जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिए। एकीकृत घुम्ती शिविरमा दोगडाकेदार गाउँपालिका–३ का ८० वर्षीय देउडीदेवी नाथले नेपाली नागरिकताको प्रमाणपत्र लिए ।

यस्तै स्वास्थ्य शिविरमा ९९४ जनाले सेवा लिएका छन् । सामाजिक विकास तथा सचेतना समाज स्वदेशको आयोजना, नेपालगञ्ज मेडिकल कलेज, जिल्ला स्वास्थ्य कार्यालय बैतडीको प्राविधिक र प्रदेश सातको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा पाठेघर खसेका महिलाको चेकजाँच, दन्तसेवा, नाककान घाँटी सेवा, जनरल फिजिसियन सेवालगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । शिविरमा आएकामध्ये १९१ जना महिलाको पाठेघर खसेको पाइएको र १७ जनाको शल्यक्रिया गर्नुपर्ने बैतडीका प्रशासकीय अधिकृत राधिका भट्टले जानकारी दिए।

पाठेघर खसेका महिलामध्ये शल्यक्रिया गर्नुपर्ने महिलाको निःशुल्करुपमा नेपालगञ्ज मेडिकल कलेजमा शल्यक्रिया गरिने उनले बताए। शिविरमा ३२१ जनाको नाक, कान, घाँटीको उपचार, २२६ जनाको समान्य स्वास्थ्य परीक्षण, १३८ जनालाई दन्तसेवा प्रदान गरिएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *