पाल्पा: स्वास्थ्य चौकीलाई चार रोपनी जग्गादान

0
Shares

पाल्पा, ९ जेठ । रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दानस्वरुप प्राप्त भएको छ ।

यहाँका दुई घरपरिवारबाट चार रोपनी जग्गादान स्वास्थ्य चौकीलाई गरिएको हो । वडा नं ८ को कालीगण्डकी करिडोर नजिकै कुमराङमा रहेको रु ४० लाख बराबरको जग्गा स्वास्थ्य चौकीको नाममा पास भएको छ ।

कुमराङ बस्ने स्व झगरसिं रानाको स्मृतिमा श्रीमती टुकीसरा राना, छोरा प्रेमबहादुर रामजाली, टेकबहादुर रामजाली, गमबहादुर रामजाली, पूर्णबहादुर रामजाली र रुपबहादुर रामजालीसहित रामजाली परिवारले रु २५ लाख मूल्य पर्ने दुई रोपनी छ आना जग्गादान गरी मालपोत कार्यालय, रामपुरमा रजिष्टे«शन पास गरी दिएका छन् ।

त्यसैगरी, कुमराङ बस्ने स्व खड्गसिं ठाडामगरको छोरा खेमबहादुर ठाडा र बुहारी भुवानीसरा ठाडामगरले रु १५ लाख मूल्य बराबरको एक रोपनी १० आना जग्गादान गरी स्वास्थ्य चौकीको नाममा पास गर्नुभएको खालीवन स्वास्थ्य चौकीका प्रमुख सुभाष अधिकारीले जानकारी दिएका छन् ।

मानव जीवनका लागि स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग वास्तविक मानव सेवा हुने भन्दै दुवै परिवारले अमूल्य जग्गादान गरी रजिष्टे«शन पास गरी दिएकोमा स्वास्थ्य चौकीको लागि गर्नुभएको सहयोगलाई सही सदुपयोग गर्ने बताउँदै दानदातालाई प्रमुख अधिकारीले धन्यवाद दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *