सूर्तिजन्य पदार्थमा करको दर ७० प्रतिशत पुर्‍याउने तयारीमा सरकार

काठमाडौँ, १६ बैशाख । सरकारले सूर्तिजन्य पदार्थमा लाग्दै आएको करको दरलाई भारी मात्रामा बढाउने तयारी गरेको छ । जन स्वास्थ्यमा प्रतिकुल असर पर्ने सूर्तिजन्य पदार्थ प्रयोगलाई न्युनिकरण गर्न करको दरमा भारी मात्रामा बृद्धि गर्ने तयारी गरेको हो ।

त्यसो त नेपालमा सूर्तिजन्य पदार्थमा लाग्दै आएको करको दर दक्षिण एसियाली राष्ट्रका अरु मुलुकले लगाउने भन्दा निकै कम छ । अर्थ मन्त्रालयको तथ्यांक केलाउँदा अहिले पनि सूर्तिजन्य पदार्थमा करको दर २८ प्रतिशत भन्दा बढी छैन् । कर सस्तो हुँदा चुरोटको मूल्य सस्तो हुने र उपभोगमा बृद्धि हुने भन्दै करको दर बढाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च, एक्सन नेपाल र द युनियनले शनिार गरेको आयोजना गरेको जनस्वास्थ्य प्रर्वद्धन सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पद्मा अर्यालले करको दर बढाउने तयारी सरकार अघि बढेको बताइन ।

नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न करको दर बढाउनु उत्तम विकल्प भएको भन्दै त्यसमा स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसंग लविङ शुरु गरिसकेको जानकारी दिइन । उनले यसैबर्ष कम्तीमा ७० देखि ७५ प्रतिशत सम्म करको दर पुरयाउन चाहेको स्पष्ट पारिन ।

त्यसो त विश्व स्वास्थ्य संगठन र विश्व बैंकले समेत सूर्तिजन्य पदार्थमा करको दर कम्तीमा ७० प्रतिशत पुरयाउन भनेको छ । ‘त्यसैले पनि अहिले हाम्रो मुख्य ध्यय सूर्तिमा कर नबढाई सुख्खै छैन । कति बढाउने भन्ने कुरा भइरहेको छ । स्वास्थ्य मन्त्रालयले यसैपटक देखि सूर्तिजन्य पदार्थमा लाग्दै आएको कर कम्तिमा ७० देखि ७५ प्रतिशत सम्म पुरयाउनु पर्छ भनेर लागेको छ,’ मन्त्री आर्यलले भनिन् ।

पूर्व स्वास्थ्य मन्त्री एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खगराज अधिकारीले सुर्तीमा कर बढाउने विषयलाई आफूले पहिले देखि नै उठाउँदै आएको भन्दै यसपटक स्वास्थ्य मन्त्रीले अनसन नै बसेर भएपनि करको दरमा बृद्धि गर्नै पर्नेमा जोड दिए । ‘सूर्तिमा कर बढाउनका लागि तपाईँ अनसन नै बस्न परेपनि बस्नुस बरु त्यसमा म पनि साथ दिनेछु,’ स्वास्थ्य मन्त्रीलाई उनले भने ।

द युनियनका रिजनल डेपुटी डाइरेक्टर डा तारासिंह बमले नेपाल जस्तो न्युन आर्थिक भएका मुलुकहरुमै सूर्तिजन्य पदार्थको खपत बढी हुने गरेको भन्दै त्यसलाई रोक्न करको दर बढाउनुपर्ने बताए ।

‘विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको नियन्त्रणका केही उपायहरु अवलम्बन गरेको छ, त्यसमा पहिलो करको दर बढाउने नै हो, दोस्रो सूर्तिजन्य पदार्थका प्याकेटमा चेतावनीमुलक स्वास्थ्य सन्देश राख्ने नै हो । नेपालले अहिले यी दुई उपायमा फोकस हुनु जरुरी छ,’ डा बमले भने ।

उनले सूर्तिका प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक सन्देश राख्ने व्यवस्थाको कार्यान्वनय र करको दर ७० प्रतिशत माथि पुरयाउनु तत्कालको आवश्यकता रहेको बताए ।

सूर्तिजन्य पदार्थमा लाग्ने करको दर कुन देशमा कति ?

बंगलादेश – ७७ प्रतिशत
थाइल्याण्ड – ७३ प्रतिशत
श्रीलंका – ६२ प्रतिशत
इन्डोनेसिया – ५७ प्रतिशत
माल्दिभ्स – ५३ प्रतिशत
भारत – ४३ प्रतिशत
म्यानमार  – ३५ प्रतिशत
नेपाल – २८ प्रतिशत

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *