आँखाको नानी संकलन केन्द्र स्थापना

झापा, ९ चैत । झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गरेको छ ।

दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गर्न अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गर्दै नानीसमेत प्रत्यारोपण गर्न शुरु गरेपछि आँखाका रोगीसहित आँखादान गर्न चाहने सर्वसाधारणसमेत उत्साहित बनेका छन् ।

बिर्तामोड नगरपालिका–१ का राजकुमार ओलीले आफू मरेपछि पनि आफ्नो आँखाले संसार देख्न पाओस् भन्दै आफूले आँखा दान गरेको बताए। उनले आँखा दान आफ्नो सानो प्रयास भएको बताउँदै अरुलाई पनि आँखा दान गर्न आग्रह गरे ।

आँखाको नानी संकलन र प्रत्यारोपण सेवा झापाबाटै पाइने भएपछि आँखाका बिरामीले अब काठमाडौँसम्म धाउनु नपर्ने भएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुरजकुमार रौनियारले बताए ।

आँखा दान गर्न चाहने व्यक्तिले मेची आँखा अस्पतालमा इच्छापत्र फाराम भरे पुग्छ । इच्छापत्रकै आधारमा आँखा दान गर्न चाहेको व्यक्तिको मृत्यु भएपछि उनीहरुको आँखाको नानी निकालिने गरेको अस्पतालका डाइरेक्टर डा पुरुषोत्तम जोशीले बताए ।

मानिसको मृत्यु भएको आठ घण्टासम्ममा निकालिएको आँखाको नानी प्रयोगमा ल्याउन सकिने चिकित्सकले बताएका छन् ।

मेची आँखा अस्पतालमा आँखाको नानी निःशुल्क प्रत्यारोणका लागि स्थापना गरिएको नानी संकलन केन्द्रमा थप जनशक्ति र आवश्यक पूर्वाधारसमेत तयार गरिँदै लगेको आँखाको नानी संकलन तथा परामर्शदाता डा पुष्पप्रसाद अधिकारीले बताए ।

मृत शरीरबाट निकालिने आँखाको नानी मेची आँखा अस्पतालले संकलन गर्न थालेपछि आँखा दान गर्नका लागि इच्छापत्र फाराम भर्नेको अहिले अस्पतालमा लर्को लागेको देख्न सकिन्छ ।

तिलगंगा स्वास्थ्य प्रतिष्ठान र आँखा बैंकको प्राविधिक सहयोगमा आँखाको नानी संकलन केन्द्र गत चैत ४ गते उद्घाटन गरिएपछि आँखा दान गर्नेको लर्को लागेको हो । आँखा अस्पतालले हालसम्म १५१ वटा आँखाको नानीको समेत सफल प्रत्यारोपण गरिसकेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा हरेक वर्ष नेपालसहित भारत र भुटानका एक लाख ६० हजार मानिसले आँखाको सेवा लिने गरेका छन् । त्यसमध्ये २५ हजारको शल्यक्रिया हुँदै आएको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *