दक्ष चिकित्सक र अर्थ अभावमा पराजुली सामुदायिक अस्पतालको सेवा बन्द

44
Shares

इलाम, २४ फागुन । इलामको सिङफ्रिङमा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पताल बन्द भएको छ ।

अर्थ अभाव, दक्ष चिकित्सकको अभावमा अस्पतालका सम्पूर्ण सेवा बन्द भएका हुन् । स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यका साथ एक दशकअघिदेखि सञ्चालनमा रहेको सो अस्पतालमा दक्ष चिकित्सक अभावका कारण बिरामी आउन छोडेपछि अस्पताल विगत चार/पाँच वर्ष अघिदेखि नै सुनसान बन्दै गएको थियो ।

२०६१ सालमा डाक्टर मेघबहादुर पराजुली क्लिनिकको नाममा स्थापना भएको उक्त अस्पताल तीन वर्षपछि स्वास्थ्य मन्त्रालयबाट १५ श्ययाको सामुदायिक अस्पतालका रूपमा स्वीकृत भएको थियो । सञ्चालन भएको पाँच/छ वर्षसम्म २४ सै घण्टा बिरामीको चाप हुन्थ्यो, अस्पतालका पूर्व कर्मचारी रविन रायाले भने ।

अस्पताल स्थापनापछि विसं २०६६ सम्म बहिरंग, अन्तरंग, साधारण ए–क्सरे, भिडियो इसिजी, प्रसूति सेवा, दन्त सेवा, आँखा उपचारलगायतका स्वास्थ्य सेवा दिँदै आएको थियो । तर पछिल्लो समय हिमालयन हेल्थ केयर संस्थाले दक्ष डाक्टर उपलब्ध नगराएपछि अस्पतालमा सामान्य सेवा लिन पनि बिरामी आउन छाडेका हुन् ।

हिमालयन हेल्थ केयर संस्थाबाट अस्पतालमा विदेशी डाक्टर पठाएर सेवा दिँदै आएपनि नेपाल मेडिकल काउन्सिलले विदेशी डाक्टर ल्याउन रोक लगाएपछि उक्त अस्पतालको स्वास्थ्य सेवा ठप्प नै भएको थियो । अस्पताल सञ्चालन गर्न वार्षिकरूपमा रु ७० लाखभन्दा बढी खर्च हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले सम्पूर्ण सेवा बन्द गरेपछि अस्पतालको सेवा पुनः सञ्चालन गर्नका लागि सरोकारवाला निकायसँग समन्वय तथा पहल भइरहेको अस्पतालका प्रशासकीय अधिकृत खेमराज घिमिरेले बताए।

अस्पतालमा एकजना मेडिकल अधिकृतसहित २५ जना कर्मचारी कार्यरत थिए । अस्पतालले छ÷सात जना कर्मचारी मात्र राखेर अन्यलाई बिदा दिएको छ । अस्पतालले सेवा बन्द गरेपछि अस्पतालमा रहेका बहुमूल्य औजार तथा मेसिन कामै नलाग्ने स्थितिमा पुगेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *