बीर अस्पतालमा अब क्यान्सर रोगको परीक्षण नि:शुल्क
काठमाडौँ । बीर अस्पतालमा भोलिबाट नि:शुल्क क्यान्सर रोग परीक्षण (क्यान्सर स्क्रिनिङ) कार्यक्रम शुरु हुँदैछ । अस्पतालमा भर्खरै स्थापना भएको ‘क्यान्सर स्क्रिनिङ तथा प्रिभेन्सन क्लिनिक’ मार्फत नि:शुल्क रुपमा क्यान्सर रोग परीक्षण शुरु गर्न लागेको हो ।
‘भोलि छैटौ स्वास्थ्य सेवा दिवस, यहि अवसर पारेर हामीले क्यान्सर स्क्रिनिङ कार्यक्रम शुरु गर्न लागेका हौँ ,’ अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले भने ।
डा. बस्नेतका अनुसार सो क्लिनिकमा अब आइतबार देखि शुक्रबारसम्म हरेक दिन विहान १० बजे देखि १२ बजेसम्म क्यान्सर रोगको निशुल्क परीक्षण हुन्छ । त्यसमा स्तन क्यान्सर पाठेघरको मुखको क्यान्सर, कोलोरेक्टल, हेड एन्ड निक तथा फोक्सोको क्यान्सरको पालैपालो परीक्षण हुन्छ । ‘यस बर्ष हामीले हरेक विधाका क्यान्सरका एक एक हजार जनाको निशुल्क परीक्षण गर्ने लक्ष्य लिएका छौँ,’ डा. बस्नेतले भने ।
स्वास्थ्य मन्त्रालयमा रहेको सूर्तिकर कोषबाट एक करोड रकम पाएपछि बीर अस्पतालले निशुल्क रुपमा क्यान्सर रोग परीक्षण कार्यक्रम शुरु गरेको हो ।
स्वास्थ्य सेवा दिवसको अवसरमा रक्तदात कार्यक्रम
यसैबीच छैटौं स्वास्थ्य सेवा दिवसको अवसर पारी बीर अस्पतालले आज बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा बीर अस्पतालका चिकित्सक नर्स तथा कर्मचारी गरी ४७ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेमा ३७ जना पुरुष र १० जना महिला रहेको निर्देशक डा बस्नेतले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]