नेपालीको खानामा प्रोटिनको अभाव

चितवन, १ फागुन । नेपालीहरुले खाने खानामा प्रोटिनको अभाव रहेको यहाँ आयोजित एक कार्यशालाका वक्ताले बताएका छन् ।

नेपाल पोल्ट्री महासंघ, कृषि तथा वनविज्ञान विश्वविद्यालय, नेपाल भेटेरिनरी एशोसिएसन तथा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिलले संयुक्तरूपमा आयोजना गरेको ‘सबैका लागि प्रोटिन’ विषयक कार्यशाला गोष्ठीमा सहभागी विज्ञले नेपाली खानामा प्रोटिनको कमी हुँदै आएको जनाएका हुन् ।

जनचेतनाको कमीका कारण दैनिक खाने खानामा प्रोटिनको मात्रा मापन गर्न नसकेको उनीहरूले बताएका थिए । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्रध्यापक डा सुवीर सिंहले अनुसन्धानको तथ्याङ्कअनुसार नेपालमा कूल ६दशमलव ४ लाख मेट्रिक टन प्रोटिनको आवश्यकता भए पनि उत्पादन जम्मा ४ दशमलव ९ लाख मेट्रिक टन रहेकाले ७०–८० प्रतिशत नेपाली प्रोटिनयुक्त खानाबाट वञ्चित हुँदै आएको बताए ।

कार्यशालामा नेपाल चिकित्सक संघका जिल्ला सचिव एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी र प्रमुख बालरोग विशेषज्ञ डा रविन बानियाँले बच्चा, युवा र वृद्धावस्थामा शरीरलाई चाहिने प्रोटिनको मात्रा तथा त्यसको कमीले लाग्ने रोगबारे चर्चा गरेका थिए । उनीहरुले मानव शरीरका लागि अत्यावश्यक पाँच पौष्टिक तत्वमध्ये प्रोटिन एउटा महत्वपूर्ण तत्व भएको र यसबाट शरीरको जैविक विकासमा मात्र नभई मानसिक विकासका लागि समेत यो जरुरी छ भने ।

दैनिक खानपानबाटै पौष्टिकतत्वले शरीरलाई पोस्ने र यसबाट शरीरका कोष, मासु, हाड, नसा, आदिको निर्माणमा खर्चिने हुन्छ । बढी खाना खाँदा यसको सञ्चय गर्न नसकिने भएकाले दैनिक शरीरलाई आवश्यक पर्ने मात्रा मात्र उपभोग गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

प्रोटिन प्राप्त गर्न पशु र अन्नबालीलाई प्रमुख आहारका रुपमा लिइन्छ । शरीरलाई चाहिने अमाइनो एसिडको प्रमुख स्रोत पशुबाट पाइने खाद्यजन्य पदार्थ जस्तैः दूध, अण्डा, मासु हो ।

अमेरिकी सोया एक्सपर्ट काउन्सिलका विशेषज्ञ डा पवन कुमारले नेपालमा ‘डाइजेस्टिबल प्रोटिन’ को माग र पूर्ति, प्रोटिनसँग सम्बन्धित तथ्य प्रस्तुत गर्दै दैनिक खाने खानामा प्रोटिनको मात्रा मापन मानिसको औसत आयु, उचाइ तथा स्वस्थ्य रहनसमेत प्रोटिनको विशेष भूमिका रहने जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *